खै कसरी स्वागत गरौं नयाँ वर्षलाई
खै कसरी नयाँ भनौं नयाँ वर्षलाई
दिनहरू बित्दै जानु
समयहरू ढल्कँदै जानु
उमेरले डाँडो काट्नु
सन्तानहरू गुँड छोड्दै जानु
मात्र नयाँ हो भने
पक्कै नयाँ वर्षहरू नयाँ नै देखिएलान्
नयाँ दिनहरूले नयाँको भ्रम छर्लान्
तर प्रिय साथीहरू
नयाँ वर्षको डिलमा बसेर
नयाँ भनेर आउनेहरू देख्दैछु
नयाँ बनेर उभिएकाहरू हेर्दैछु
नयाँ गर्छु भनेर कुर्लनेहरूलाई चियाउँदैछु
तर नयाँ त उही मान्छे नयाँ देख्छु
त्यो नयाँ मान्छेको
बुद्धि पुरानै
विचार पुरानै सडेको
नैतिकता उस्तै गनाएको देख्छु
बोतल फेरिँदैमा
पानी नयाँ हुने रहेनछ मित्र
बोतलहरू मात्र नयाँ देख्न चाहेको भए के भनौं
मैले त उही रङ्गीन नयाँ बोतलमा
उही गन्हाउने पानी भेटेँ
युवाको लाइन विमानस्थलमा बढेको छ
सडकमा खाल्टो थपिएको छ
शहरमा मात्र होइन
सिंहदरबारमा फोहोर थुप्रिएर पहाड बन्दैछ
ऋणको भारले निसास्सिएर बाँच्न नसकेकाहरू
कतै विषपान गर्दै
कतै डोरीमा पिङ खेल्दै
कतै आगोमा झुम्दै
कतै पुलबाट बन्जी हान्दै
पृथ्वी छोड्नेहरूको फेहरिस्त पढ्छु
प्रिय मित्र
म त नयाँ केही देख्दिनँ
पार्टी, गुट, उपगुट, नेताहरू व्यस्त
बैठक नै बैठकले भरिएको समाचार पढ्छु
कुरा उही
प्रधानमन्त्री हुने दिनको बाँडफाँड
मन्त्रालय कसलाई कुन कति
कहीँ कतै कसैको सप्रिएको छैन मति
न विकासको कुरा
न निकासको कुरा
न नयाँ नेपालको कुरा
न जनताको आँसुको कुरा
प्रिय मित्र
म त नयाँ केही देख्दिनँ
तर पनि प्रिय साथी
नयाँ वर्ष दुई हजार असी
नयाँ बनेर आओस्
नेपाल र नेपालीलाई
समृद्धि दिओस्
देश र जनताको विकास र प्रगतिको
कुरा होस्
हामी सबैमा नेपाल आमाप्रति
केही गर्ने इच्छा पलाओस्
नैतिकता, इमान्दारी र कर्तव्यनिष्ठताले पङ्खा फैलाओस्
यही छ शुभकामना, शुभकामना ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।