वसन्त हरियो मयलपोसमा मौलाउँछ
ऋतुलाई सम्झाउनी स्वरूप
घरि कोपिला दिन्छ त घरि कोकिला
घरि मछ्याइनो ल्याउँछ त घरि ऐँसेलु
घरि काफल ल्याइदिन्छ त घरि फूल
ऋतु हर्षविभोर हुन्छे
ऋतु भन्छे- “वसन्त, बस न त !”
तर अचाक्ली छुनुमुने छ वसन्ते
दुई तीन महिना पनि सँगै नबस्ने
भाउन्निएर रन्थनिएर लन्फनिएर
बाटो लाग्छ
बबुरो ऋतु उसकै
पर्खाइमा साल गुजार्छे
उसलाई पुकार्छे
वसन्तेको गैरहाजिरीमा अनेक
हाजिर हुन्छन्
त्यसमा एक आवारा शिशिर हो
ऋतुलाई शिशिर वैराग्य लाग्छ
तै पनि संयोगको जाल भनौँ कि
नाकको चाल
सधैँ बेलाबखतमा उनीहरूको जम्का
भेट हुने गर्छ
यो त विचरी ऋतुको जिउ ता
कथा नै भै सक्यो
शिशिर अनुराग अर्पण गर्छ
तर ऊ वसन्तेकी मोहिनी
अखट्ट शैत्य लाग्छ शिशिरको
शब्द
ऋतुको आँतै कठ्याङ्ग्रिने ।१।
शिशिरलाई प्रायःले मन पराउँदैनन्
उसलाई लगाईको छाँटमा छाँट्टिन
आउँदैन
अरुसँग खासै रञ्जिनीय छैन
अरुको भलो भन्ने शब्द नै छैन उसको
कोशमा
यसको विपरीत निकै फरासिलो
काँटछाँट मिलेको
फुलबुट्टे वस्त्रमा वेष्टित छ वसन्ते
उसको आङबाट अत्तरको आमोद बहन्छ
शिशिर फुङ्ग बख्खुमा प्रकट हुन्छ
स्कन्धबाट बेलाबखत ढुँडीको गन्ध आउँछ
अरुहरू वसन्तेकै महिमा गाउँछन्
ऊ भनेपछि हुरुक्कै
‘शिशिर वसन्त’को कथा भन्दा
पार्थक्य छ यिनीहरूको कथा
एकअर्काको बिब्लेँटो
एकअर्काको गुण कत्ति पनि नमिल्ने
तर विडम्वना भन्ने कि विश्रुत
एकअर्काको भौतिक उपस्थितिमा
कहिल्यै तकरार भएन
कहिले शिशिरले ऋतुको मुखबाट
वसन्तको दृष्टता सुन्यो
त कहिले वसन्तले ऋतुको मुखबाट
शिशिरको धृष्टता
वसन्तेलाई रिस गर्ने पनि कम
नभएका होइनन्
कसैले उसलाई “खडेरी डाम्नो!
यसको मुख त कहिले देख्न नपाए !”
सम्म पनि भन्न भ्याउँछन्
फेरि उनीहरुलाई पनि वसन्ते नभै
नहुनी
वसन्ते मोरोको गुण नै यस्तो छ
चाहिने पनि नचाहिने पनि
नचाहिने पनि चाहिने पनि ।२।
वर्खा ऋतुको समीप सखिया
उसको गाथा पनि कम छैन ऋतुभन्दा
अन्तरसङ्घर्षमा अन्तरङ्गीत
मेघेको छेडछाड र बिजुलीको
केरकारले मथित ती भावभंगी
आँखाहरूबाट धुर्कापानी टप्काई हाल्छे
ऋतुसँग क्लेश पोख्छे
बाधाको बाँधमा स्वयं बाँधिएकी
ऋतु त फगत मूकदर्शक र
कान भजक न हुन् ।३।
शरद वसन्तेको सरियान स्पर्धी
न उसमा तामझाम छ
न उसमा रमझम
सधैँ शान्त संवेदनशील र सोचमग्न
उसमा ती त्यस्ता चटुल
यौवन छैन
प्राशन पहिरनमा पनि खासै
सोखिन होइन
ठट्यौलो कुरा गर्न पनि आउँदैन
बोल्नेको पिठो पनि बिक्छ
नबोल्नेको चामल पनि बिक्दैन
सायद यही कारण होला
ऋतुले शरदमाथि आँखा नगाढेकी
यस्तै यौवनता र विवशतामा
अल्झिएर चक्रिरहने यिनीहरूको
जिन्दगीको लगाम त ठालु चक्रेको
हातमा छ ।४।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।