उडी रहेछु म नियाल्दै सपना
तल आफ्नै आकृतिका बादलहरू छन् – मुस्कुराइरहेका
पर क्षितिजसम्म आकाश टपक्कै टाँसिएको छ
त्यसमाथि नीलो शून्यताबाहेक अरु केही छैन
म कल्पन्छु धरती मौन छ
र, त्यही मौनताभित्र नीलो आकाश स्नीग्ध छ
फूलहरू फुलिरहेका छन्
तर
बाक्लो बादल छिचोलेर आँखाहरूले भूगोल ठम्याउन सकेको छैन
घरी देखिन्छन् बादलमाथि उभिएका हिमालका थुम्काहरू
घरी देखिन्छन् नागबेली पानीका लहराहरू
घरी देखिन्छन् उराठलाग्दा पहराहरू
म त उडिरहेछु तर मेरो उडानमा न त चराहरूको चिर्बिराहट छ
न गल्लीहरूमा कोलाहल नै
यो एउटा अनौठो यात्रा हो- निश्चल अनि निशब्द
किनकि डोरेटो आफैँले कोर्नुपर्छ आकाशमा उड्ने पंक्षीले झैँ
फरक यति मात्र हो कि मेरो उडान यान्त्रिक छ
यान्त्रिकताले आकाशको मौनतालाई चिरेको छ
मलाई फरक पर्दैन, मन पुलकित हुन्छ
कतै बादलहरू गतिशील छन्
त्यो गतिशीलतामा म पनि ऊसँगै बगिरहेछु
कतै शान्त छन्, तर उनीहरूको मौनतामा म अडिन सक्दिनँ
किनकि मेरो गन्तव्य निश्चित छ
त्यही आकाश र धरतीको सामीप्यमा मैले पनि यात्रा तय गरेको छु
जीवनको परिकल्पना गर्दै मैले पनि-
त्यही क्षितिजमा उज्याला आभाहरू स्खलित गरेको छु
यात्रा भिडहरूबाट टाढा छ
यो त आकाश हो – म उडिरहेको
कल्पन्छु न त्यहाँ द्वन्द्व छ गिद्दहरूको !
कल्पन्छु न त्यहाँ प्रकृति चिथोर्ने आत्माहरू छन्
अनि भन्छु यो सब नभइदिए हुन्थ्यो धरतीमा
यसैले यो शून्यता भित्रको यात्रा हो
र त्यही शून्यताभित्र प्रश्न गर्छु, जीवन के रहेछ र ?
बस कोलाहल भित्रको मौनताबाहेक
अनि शून्यता भित्रको कोलाहलबाहेक
ठान्छु मात्र मैले उड्नुछ मनसँगै
र, जिउनु छ, केवल एक अनिर्णित गतिशिलतासँगै
किनकि यो यात्रा हो एउटा गन्तव्यको
यसैले सेता बादलहरू प्रतिच्छाया बनेर पछ्याइरहेका छन्
म काल्पनिक पखेँटा फिँजाएर
उही स्वार्थका फिलिंगाहरू बटुल्न खोजिरहेछु
प्राप्ति त केवल एक भ्रम मात्र रहेछ
किनकि
यान्त्रिकतासँगै म पनि आफ्नै द्वन्द्वमा उडिरहेछु ।

बेइजिङ, चीन