जनता अनुकूलको नेता, नेतृत्व अनुसारको राजनीति हुन्छ
इमान्दार जनताको बेइमान नेता कसरी बन्न सक्छ
नैतिकता र इमान बेचेर सुशासन कहाँबाट फल्छ
इज्जत भए पो सम्मान, खोक्रो बरियताको कदर कसले गर्छ ?

अर्थतन्त्र धराशायी भएको जुग भैसक्यो टेको कसरी लगाउँछौ
विप्रेषणको विषालु सुई घोचेर कहिलेसम्म अड्याउँछौ
कति परनिर्भर भएर किनेर मात्र खाने, आफूले कहिले उब्जाउँछौ
युवा जति परदेशमा बेचेर, देशमा समृद्धि कसरी ल्याउँछौ ?

व्यवस्था परिवर्तन भएकै हो व्यवहारमा किन देखिएन
दाउ हेर्ने र छिर्के हान्ने खेल हैन राजनीति संस्कार कहिले बसेन
नीति मात्र भएर हुँदैन आचरण र अनुशासनको लगाम कसले लगाउने
राजनीति कुनै पेशा र व्यवसाय होइन राष्ट्र सेवाको भावना कसरी जगाउने

शिक्षा र चेतनाले समेत मानसिकताको जड भत्काउन सकेन
यति धेरै बेइमानी र धोका खाएर पनि पात्र र प्रवृत्ति फेर्न सकिएन
जनतामै खोट हुनुपर्छ सायद आगामी पुस्ताको भविष्य कहिले खोजेनौ
विवेक हराएको समाजमा व्यक्ति बन्दछ, देश बन्दैन भन्ने कहिले सोचेनौ

संसार कहाँ पुगिसक्यो हाम्रो देशमा विकास कहिले ल्याउने
जनताको नेता भनाउदा पात्रहरू मात्र हैन हामी आफैँ कहिले फेरिने
आशा भए पो उत्साह हुँदोरहेछ हरेक साल वर्ष मात्र फेरिन्छ
शुभकामना स्वरुप निराशाको एक थान नयाँ उपहार थपिन्छ ।

धापासी हाइट – ६, टोखा, काठमाडौँ