१.

एक किलो चिनी किन्न जाँदा
साहूकारले जति दाना भुईँमा झार्छ
त्यति नै दानाहरूले आफ्नु पेट भर्छन्
ईश्वरले !

यो संसारमा हरेक कलम थाम्ने हातले
कविता लेख्न जानेका हुँदैनन्
एक कविले सुन्दर कविता लेखिरहेको बेला
एउटा भोकाले भोक
एउटा निरीहले संघर्ष
एउटा बन्दीले छुटकारा
एउटा निर्दोषले न्याय लेखिरहेको हुन्छ !

एक कविले सुन्दर कविता लेखिरहेको बेला
एउटा बेरोजगार युवाले
फूलमाला र प्रसाद किन्न पर्दा
दस रुपियाँ कम गर्ने बहसको बहानामा
दुनियाँ कति खराब छ भन्ने रायता
फैलाएर
ईश्वरसित नोकरी
र तरक्की मागिरहेको हुन्छ ।

त्यही समय ईश्वर
बालुवामाथि घर बनाउन लाग्दा आफ्नु हराएको
एउटा चप्पल भेट्टाइएपछि
बच्चाहरूको फाटेको जुत्ता सिलाई गर्न
मरम्मत गर्न बस्छन्
वा धूप फेक्ट्रीमा दिनभर खटने दस सालको
रुँदै गरेका केटाको हातहरू चुमिरहेका
हुन्छन् !

बजारमा के पाइन्न र ?
हरेक रङका ईश्वरहरू भेटिन्छन् बजारमा
नक्कली प्रार्थनाका आँखाहरू
र त्यसैमा उब्जेको एउटा
रङ्गको भवन
त्यही भवनको मूल दैलोको भित्तामा
टाक्सिएको ठूलो नेमप्लेट
दाहिनेपट्टि छपक्क लागेर बसेको
रातो दानपेटी
जस्लाई तिमी ईश्वरको घर भन्छौ

यी सब देखेर पनि तिमी यदि ईश्वर छैन भन्छौ
भने मलाई केही भन्नु छैन

यी सब देखेर पनि तिमी ईश्वर वास्तवमा छन् भन्छौ
भने पनि मलाई भन्नु केही छैन ।

२.

विपत्तिहरूमा ईश्वर आउँछ

जहिलेदेखि मैले सुनेको हुँ यो वाक्य
तबदेखि मैले यही इच्छा गरेको हुँ कि
विपत्ति
र ईश्वर दुइटै नआओस् !

बालपनदेखि जसरी मलाई कण्ठस्थ थियो
गिन्ति,गुना,भाग,जोड़,घटाउ जस्तै
बारबार सुनेको हुँ यो वाक्य
र कण्ठस्थ पनि भएको हो

एकदिन साँच्चै विपत्ति आयो
म एक्लो थिएँ
भव्य मन्दिरहरूका ढोका खुल्लै थिए
ईश्वरहरू आए
तर स्यानो स्यानो घरहरूबाट

सबैले हात बढाएर
मलाई पार लगाए

मैले त्यो दिन देखेँ कि
साधारण शरीरमा बास गर्ने असाधारण ईश्वर
विपद्का बेला आउने ईश्वर भन्दा
महान् थिए

यसैले आज पनि यही कुरा दोहो-याउँछु
कि विपद् आएछ भने पनि मलाई बचाउन
यी ईश्वरहरू आऊन्
त्यो भव्य मन्दिरको ईश्वर होइन ।

****

सिलगडी, भारत