चर्चित लेखिका प्रीता व्यास ‘लोकमत समाचार’, ‘मेरी सहेली’ जस्ता प्रसिद्ध पत्रिकाहरूका सम्पादन विभागमा कार्यरत छन्। उनले १९ वर्षसम्म आकाशवाणीमा कार्य गरिन् । हाल उनी हिन्दी त्रैमासिक पत्रिका ‘पहचान’मा सम्पादकका रूपमा कार्यरत छिन्। उनले बाल साहित्यमा १८७ किताबहरू प्रकाशित गरेकी छन् भने गद्य अनि पद्यका अन्य ११ साहित्यिक किताबहरू प्रकाशित छन्। इन्डोनेसियाली अनि माओरी लोक कथाहरू हिन्दीमा अनुवाद गर्ने, इन्डोनेसियाली भाषामा हिन्दी व्याकरण उपलब्ध गराउने, बालीस्थित मन्दिरहरूबारे किताब लेख्ने उनी पहिलो भारतीय लेखक हुन्।

*****

१.

प्रीता व्यास

अहिले म एउटा ध्वस्त सहर हुँ
ममाथि
आफ्नो संवेदनाका
शब्द, भाव, आँसु, फूल
केही पनि चढाउन अघि
सुन्नुहोस्
मेरो अन्तिम इच्छा-
संसारबाट
हतियार अनि फौजहरू
समाप्त गरियोस्

 

२.
पखेटा भए त उड्ने थिएँ
यो त पछिको सपना हो
खुट्टाहरू त छन्
त्यसैले
आफूले रोजेको बाटोमा
हिँड्न सकूँ
दगुर्न सकूँ
पहिलो सपना
यही हो मेरो

३.
एउटा दाना
गहुँ हौँ हामी
भित्र-भित्र
खोक्रो बनाउँदै जान्छ
दुःखको घुनले
बाहिरपट्टि
बनी रह्यौँ
दुरुस्त
आकर्षक
सुन्दर
हामी
एउटा दाना
गहुँ हौँ हामी

 

४.
टाढा कतै
एउटा नदी बग्ने गर्थ्यो
जसको कल्पनाले हामी शीतल बन्ने गर्थ्यौं
जसको प्रवाहमा हामी कविता रच्ने गर्थ्यौं
नजिकै एउटा पोखरी थियो
जसलाई हामीले हेर्नसमेत भ्याएनौँ
जसको सुकिरहेको व्यथा
हामीले जान्न पनि चाहेनौँ

५.
सूर्य
सबैका निम्ति साझा हुन्छ
तर
कद र छायाँ
सबैका
आफ्-आफ्ना हुन्छन्

६.
भित्ता थोरै चर्किएको देखे
उम्रिन पुग्छ
सुकेर पहेँलै बने पनि
हरियो बन्छ
जत्तिनै ठूलो हुण्डरी आए पनि
बाँचिरहन्छ
हिम्मत चाहिँ मलाई तिमी
घाँसजस्तै दिनू प्रभू !
*****

बिलोक शर्माः

बिलोक शर्मा

बिलोक शर्मा कवि, अनुवादक अनि सम्पादकको रूपमा परिचित छन्। उनका मौलिक कविता सङ्ग्रह ‘समयाभास’ (सन् २०१९) उनि ‘कबितार रोटेपिङ’ (भारतीय नेपाली कविताहरूका बाङ्ला अनुवाद सङ्कलन, सन् २०२२) प्रकाशित भइसकेका छन्। विगत दुई दसकभन्दा बढी समयदेखि साहित्यलेखनमा होम्मिएका शर्माका देश-विदेशका विभिन्न पत्र-पत्रिकाहरूमा कविता अनि अनुवाद रचनाहरू (नेपाली अनि बङ्गला) नियमितरूपमा प्रकाशित हुने गर्छन्। उनका मौलिक कविताहरू बाङ्ला, हिन्दी, अङ्ग्रेजी अनि पञ्जाबी भाषाहरूमा अनुवाद भइ प्रकाशित भएका छन्। केही साहित्यिक पत्रिकाहरूका सम्पादन कार्यमा पनि उनी सङ्लग्न रहेका छन्।  मदारीहाट, डुवर्स (भारत)-का स्थायी वासिन्दा उनी हाल उत्तर भारतको जलन्धर सहरमा एक बहुराष्ट्रिय संस्थामा कृषि-प्रबन्धकको रूपमा कार्यरत छन्।