आधा दशक समय हिँडेपछि
केही त पक्कै फुल्यौ
केही त पक्कै बन्यौ
कहीँ त पक्कै पुग्यौ
कि –
यतिन्जेल पैताला मात्रै फाट्यो समयझैँ ?

फेरि मैले अन्तिम पल्ट हजुरलाई सोधेँ
को हौँ हामी ?
यो समयले छोडिराख्ने डर कति छ हजुरभित्र ?

जवाफमा फेरि हजुरले दोहोर्‍याउनुभयो
`सिर्फ मित्र हम् हामी
यत्तिमै ठीक छम हामी´

हजुरले यत्ति भनेपछि –
जरुर रोक्नुपर्छ मैले हृदयमा उर्लिरहने छाल
अनुभूति शून्य हुनुपर्छ हजुरलाई स्पर्श गरी आउने
मनमौजी बताससँग
अब क्यामेरामा कैद गर्नुहुन्न मैले फूल
बिर्सेर पनि लेख्नुहुन्न हृदयको कुनामा गुन्जिरहने गीत
ताकि-
च्याट्बक्समा फेरि नखसम् म बिम्ब भएर
अराजक नबनम् म फेरि-फेरि हजुरको स्वतन्त्रतामाथि
हिउँदमा उभिएको रुखझैँ
लुकाउनु सिक्नुपर्छ आफैँभित्र गुनासाहरू/संवेदनाहरू
शान्त हुनुपर्छ केही नभएझैँ / केही नगुमाएझैँ
र,
म बाँधिनुपर्छ हजुरले कोरेका सीमाहरूमा !

जसलाई
म एक्लैले बार-बार भत्काउन खोजेको थिएँ
म एक्लैले बार बिनाको हुन चाहेको थिएँ

ओ साथी !
एकतर्फी सडक हिँड्न जत्ती सुरक्षित छ
त्यति नै भयानक छ
एकतर्फी अनन्त प्रेम र सम्झना !