बिलोक शर्मा

बिलोक शर्मा

महिनौंदेखि झुण्डिएको
गेटको बलियो फलामे ताला
अकस्मात् तोड़िएर तल झर्दा
हर्ष, उन्माद अनि अभिमानका पाइलाहरू
भित्रिन खोजिरहेछन्
स्वार्थलोलुपताका वाँणले कोरिएका
लक्ष्मणरेखालाई नाघेर।

संसारको श्वास फेराइ
घरभित्रै कुञ्जिएको बेला
साइरनको उपनिवेशित धुनले
बिहानीको ढोका खोल्छ
गाउँ !
घरअघिबाटै देखिन्छ
छायाङ्कन गरूझैं लाग्ने
कमिलाहरूको लहरबद्ध यात्रा।

‘फस्‌र्ट फ्लस्’-को गुणगान
नसुनेको/नजानेको हैन नि पहिला!
राल चुहाउने जिब्रोहरूले
बाक्लो पसिनाका स्वादलाई
पेटेन्ट गरेर जहाजमा चढ़ाउँदाको क्षण
गुलियो थुक निल्दै
हरियो झन्डा देखाउँदै थिए
थप्पड़ीहरू….

अखबारका पन्नाभरि
अक्षरहरू मास्क लगाएर
अकपट हेरिरहेथ्यो मलाई
चिया टेबलबाट।
‘लकआउट्’ देखेका थिए तिनीहरूले
‘लक्‌डाउन्’ त सुनेका थिएनन्
बुझेका पनि थिएनन्।

रूमाल/तौलियाले ड्याम्म ढाकिएर
मरणासन्न बुट्टाहरूका खाटमा
लम्पसार सुतेको छ
रोजगार।
क्वारान्टिनको प्रोटोकल जाँच्ने क्यामेराहरू
महिनावारीले ग्रस्त छन्।
फालेमुङ्ग्रो फाइलहरूका
पुरानो खोकीबाट निस्कने
गन्हाउने विषाणुहरू
घण्टैपछि साफ भइरहेछन्
ब्रान्डेड् स्यानिटाइजरले।

दुधमुखे नानीलाई डिलनेर लुकाएर
स्तनपान गराएको द्रृश्य
भाइरल बनेको छ….
अक्षरहरूका थुप्रोले
कमेन्ट बक्सभरि
रङ्ग-विरङ्गी झण्डाहरू
गाड्न थालेका छन्।
माथिपट्टि एउटा नोटिफिकेसन भने
निमन्त्रणा पत्रको साथ उभिएको छ
ठ्याक्क पाँच वर्षपछि
शुरू हुनलागेको गाउँको महापुराणको।

 

डुवर्स, भारत

(हालः लुधियाना)

 

(कविता-श्रृंखला ‘आजका डुवर्स’-का पहिलो तीन भाग कविका प्रकाशित कविता सङ्ग्रह ‘समयाभास’-मा प्रकाशित छन्)

 

(डुवर्स क्षेत्र भन्नाले भारतको पश्चिम बङ्गाल राज्यअन्तर्गत टिस्टा नदीदेखि सुनकोश नदीसम्मको भुभागलाई बुझिन्छ, जुनचाँहि जलपाईगढी हनि अलिपुरद्वार जिल्लाभित्र पर्दछ। यहाँ बाक्लो संख्यामा नेपालीभाषीहरूको उपस्थिति पाइन्छ। यसक्षेत्रमा १५० भन्दा बढी चियाबगानहरू रहेका छन्, हजारौँ नेपाली परिवारहरू यी बगानहरूमा आश्रित छन्। तर धेरै बगानहरू कि त बन्ध छन्, नभए रूग्न अवस्थामा छन्। यस्तो परिस्थितिमा पनि यहाँ विगत ६५-७० वर्षदेखि यहाँका साहित्यकारहरू साहित्य सृजनामा होमिएका छन् एवम् वर्तमान समयमा धेरै साहित्यकारहरू सक्रियरूपमा आएर राम्रा-राम्रा कृतिहरू पाठकहरूलाई चढाइरहेका छन्।)