दुधकोशीको किनारमा
ढलेको पुर्खाको शिर
मुन्धुमी रिसियाले उठाउँदै
चोखो पानी छर्केर
खिया लागेको तरवारमा
चकमक लगाउँदै छन्
उभोखोले भि.सि.हरू
साया फुकौँ
साया फुकौँ

रभुँवा घाटमा शंख बजाउँदै
कात्रोमा लाश झार्नेहरू
जोगीको भेषमा सुराकी गर्दै
डुंगामा लाश तार्नेहरू
अब फेरि तिम्रै आँगनमा
एकोहोरो शंख बज्दैछ
र झर्ने छन् मलामीहरू
रावाथुमबाट घँघरुको लाठी टेक्दै
रभुँवा घाटमा
अन्तिम श्रद्धान्जली दिन

तिमीलाई कोशेली बुझाउन झरेका
हाँचेकाली र माक्पालीहरू
सेवाढोग गर्दागर्दै काटिएका
तिम्रा मित बा र ससुरालीहरू
तिमीले सम्झ्यौ
रावाखोला र तापखोलाको पानीसँगै
दुधकोशीमा बग्यो सलल

तिमीले लेख्नु पर्दैन सेतो इतिहास
तिमीले कथ्नु पर्दैन दन्ते कथा
त्यही बालुवामा ढलेका पुर्खाहरू
हाम्रो पितृ बनेर बसेका छन्
फलाक्छन् आफ्नै इतिहास्

रुपाकोटले देखेको छ
केपिलासगढीमा तिम्रो तमासा
पारिखोले ससर्कालीलाई
कंखे कटायौ
साक्षी छ
नाम्रेचुङ, लौंरेथाम
ढाल, तरवार र चिलिम ढुंगा
मुन्धुमलाई सोध
अझै पनि
ढुंगा बोल्छ
माटो बोल्छ
खोला बोल्छ
हावा बोल्छ

विगत बिर्सिसकेका
सोझो उँभोखोलेहरू
तिम्रा सेतो इतिहास भित्र
आफ्नै पुर्खाको खुन देखेपछि
तिम्रा दन्ते कथाभित्र
आफ्नै चेलीको हँसीमजाक देखेपछि
रिसले चुर भएर
राँके बजारमा
घँघरुको लौरोले भुँई चुट्दै
नाङो खुकुरी नचाउनु
“अबुई ख्याल ख्यालमा चार इन्च”
कुनै उदेक होइन

मेरुङ र मायुम सेरोफेरोका
साङपाङहरूलाई सोध
सिलिचुङ मुन्तिरका
कोयुहरूलाई सोध
रुपोकोट र केपिलास वरिपरिका
दुमीहरूलाई सोध
सत्य होला
तिम्रो ईख बोकेर
उँभो बगिरहेछ
रावा रेणु

विश्वासमा उभिएको
फक्तालुङ र चोमालुङलाई सोध
तिमीले धोका दिएकै हो
तिमीसँग कर्तुत थिएकै हो
रावाखोला र तापखोलालाई सोध
सङ्लो पानी धमिलिएकै हो
आज यही खोलाको पानी
शिरमा चढाएर
उँधौली र उँभौलीमा
ढोल बजाएर
दुधकोशीको किनारमा
ढलेको पुर्खाको शिर
मुन्धुमी रिसियाले उठाउँदै
चोखो पानी छर्केर
खिया लागेको तरवारमा
चकमक लगाउँदै छन्
उँभोखोले भि.सि.हरू
साया फुकौ
साया फुकौ ।

(खोटाङ जिल्लाको उत्तरी भेगमा रावा खोला र ताप खोला अवस्थित छ । यी दुई खोलाको सेरोफेरोलाई उँभोखोला भनिन्छ । यी दुवैखोला पुर्वबाट उत्तर पश्चिमतिर बगेको हुनाले यिनलाई उँभोखोला भनेको भन्ने भनाइ छ । यी दुवैखोला डुम्रेथुममुनि संयुक्त भएर रभुवाघाट नजिकै दुधकोसीसँग मिसिन जान्छ । राजनीतिक इतिहासअनुसार, पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानताका दुधकोशी पारिका खम्बुवानलाई पराजित गर्न पूर्वयोजनाअनुसार दुई जनालाई जोगीको भेषमा सुराकी गर्न पठाए । दुवै सुराकीको रिपोर्टअनुसार खम्बुवान क्षेत्रलाई त्यति सहज रुपमा जित्न सकिँदैन भन्ने सुझाव भएपछि पृथ्वीनारायण शाहले प्रयोग गर्ने दुई जुक्ति १) कोहीसँग बिहे गर्ने, २) कोहीसँग मित लगाउने । सोही मुताबिक खम्बुवानमा मित लगाउने भन्ने मिति समेतको व्यहोराको खबर पठाए । भेला हुने स्थान रभुवाघाट । जब सोझा र इमान्दार खम्बुहरू कोसेली बोकेर मित लगाउन आए र पन्च भलाद्मीबाट मितको कुरा अगाडि बढाए, त्यही मौकामा बालुवाभित्र लुकाएको हतियार झिकेर खम्बुवानको खुर्पाहरूलाई छप्काएका थिए, बालुवा , पानी खुनले रंगियो भन्ने इतिहास छ । कथनअनुसार सोही बिहान सेतो कात्रोले बेरेर मुर्दाजस्तो शंख बजाउँदै झारेर हतियार बालुवामा गाढिएको थियो ।)