छन्दः उपजाति

देख्दैछु रैती भुसुना समान

हु सृष्टिकर्र्ता अरु हुन् मसान

ऐरेलु लाग्छन् उपदेश तिम्रा

लाग्दैछ यस्तो म हु सर्वसर्वा ।

 

उडेर  आफैँ नभसम्म आएँ

ब्रह्माण्ड जस्तो तह यो बनाएँ

चाहा छ देख्नै नपरोस् स्वजाति

हेर्नै  कसैले नसकोस् म माथि ।

 

सबै हिजोका इतिहास च्यात्छ

मबाट जेठो  सुरुवाद थाल्छु

गरिन्छ मस्ती रसरङ्ग खोज्दै

के गर्न सक्छौ भुइँमाझ भुक्दै ?

 

देख्दैन धर्ती म छु स्वर्गमाझ

सुवर्ण मान्छे हु  नमाग गाँस

तारा धरामा छ कहाँ झरेको ?

अम्बा धुलोमा छ कहाँ फलेको ?

 

जहाँ छ बाली असिना खसाल्छु

जहाँ छ बस्ती पहिरो पसाल्छु

बनेर  आधी  झुपडी  बडार्छु

जे लाग्छ इच्छा सब नष्ट पार्छु ।

 

पुछार झर्ने दिन आन्न कालो

लाग्दैन मेरो पथमा  तुँवालो

जताततै  छन् जयकार मन्त्र

अनन्त आरम्भ म मात्र एक ।

 

म काललाई पनि मार्न सक्छु

म यामलाई पछि सार्न सक्छु

रोकिन्छ हावा म गरे इसारा

खसाल्न सक्छू नभ जून तारा