रोस्यो जल्दै नजल्ने विवशता
अनिकालको घेराबन्दी तोड्न
कुम्लो, कुटुरो, कुखुरो, सरजाम बोक्दै
कहिले भीरमाहुरी कहिले शिलाजित पाखो
अनकन्टार शिलाञ्जल खोज्दै हिँड्छ
झण्डोतोलन जस्तरी निर्जन अनि निर्जल ओडारमा
तन्मयले भविष्यको गाँस आँकलनले बास बस्छ
मधु अनि शिलाजितमा मृत्यु साट्न आँट्छ
तातो न छारो कङ्गाली छल्न भावि उज्यालो देख्छ
भीर पहरामा समृद्धि छाम्दाछाम्दै उक्लन्छ
चन्द्रोदयमा माहुरीको चाका हेर्दै मुसार्छ
रस्सीमा खप्टेरा मिलाउँदै चढ्दै किला ठोक्दै
विडम्बना पुग नपुग दुई माना महमा पहरा चहार्छ
पाउभर शिलाजितमा ज्यान विनिमेय गर्छ
कौडीको मूल्यमा सौदाबाजी गर्दा खिन्न हुन्छ
भिषण भीर अनि माहुरीसँग पौँठेजोरी लड्दै
भीरमाहुरीले चिलेको थुकले उपचार गर्छ
स्वघोषित प्राणदण्ड कल्पिदै चढ्दै गरेको दृश्य
सहिद घाँटीको फाँसी जस्तै देखिन्छ
उसको कुटो कोदालो भन्नु रस्सी छ
सन्ततिको उज्यालो भविष्य भीरमा देख्ने
बाउबराजुको पेशा सम्हाल्दै भीरमा टाङिन्छ
भीर उसको पैतृक खेतबारी बन्छ
हंशपरान भीरमै देहान्तर गर्दै हिँड्छ
बेइलमे समाजमा इलम खोज्न
मृत्युभित्र पनि जीवन खोज्दै संघर्ष गर्छ
निराशामा आशा फलाउन भौँतारिन्छ
“हिमचितुवा” जस्तो कस्तो भीरमान्छे !

महालक्ष्मी-०१, ललितपुर