युगौं देखि समाधिस्थ
ढुङ्गामा कसैले प्राणजस्तो केही हालिदिएपछि
मूर्तिमा कसैले हृदयजस्तो केही भरिदिएपछि
उभिरहेछ या बसिरहेछ
एउटा असहाय बिचरा निर्धो ईश्वर!
पूजारीहरूका लोभी आँखाहरू
बाजको चालमा पल्याकपुलुक हेर्दै थिए
त्यही हूलमा फेरि
कतिका कामुक आँखाहरू
एकदेखि अर्को यौवनतर्फ फालाकफिलिक गर्दै थिए
तर अँहँ देखेन कसैले पटक्क
मेरो ईश्वरले देख्न नसकेका
सोचेर, सम्झेर गरेका
अनगन्ती पापहरूको
या त
सुनियोजित तरीकाले गरेका
अक्षम्य घोटालाहरूको
अर्थात्
दूधमुखे बालकहरूको भाग्यमा लात मारेर
आफ्ना खल्ती भरेका अपराधहरूको
त्यो पनि होइन भने
एउटी असहाय अबलाको
निर्ममतापूर्वक बलात्कार र हत्यापछि
प्रायश्चित्त गर्न आइपुगेका
अनेकौं पापी हृदयहरूको ताँती
मन्दिरकै वरिपरि।
नसोचीकन नै पुगेछु म पनि
त्यही ईश्वरकहाँ
प्रेमको पाठ सिक्न भनी
नबुझीकन नै पुगेछु म पनि
त्यही ईश्वरकहाँ
आफ्नो भाग्यको उँचाइ नाप्न भनी।
तर कस्तो विडम्बना नि!
मेरो ईश्वरको नगीच पुग्नसाथ
म त निख्रिएँ
म त प्रेमशून्य पो भएँ
भाग्यहीन बटुवाझैँ
एकलास बाटोको एकलो यात्री पो भएँ
अल्पिए मेरा सहयात्रीहरू
हराए मेरा तमाम आफन्तहरू
बिलाए मेरा जहान बालबच्चाहरू
यसरी म एकलो एकलो भएँ
यसरी म दुनियाँदेखि बेग्लो बेग्लो भएँ।
तरै पनि छ नि आस्था त ईश्वरमाथि
त्यो त कहिल्यै मर्ने होइन
तरै पनि छ नि विश्वास त ईश्वरमाथि
त्यो त कहिल्यै ढल्ने छैन
मैले त केवल
ढुङ्गामा ईश्वर छैन भनेको
ईश्वरभित्र ढुङ्गा छैन भनेको
आस्थाको दीयो निभाउने
निकृष्ट पूजारीहरूमा धर्म छैन भनेको
विश्वासको पर्खाल तोड़्ने
हृदयहीन ढुङ्गामा
ईश्वरको कुनै चिह्न नै छैन भनेको।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।