मेरो बुवाले थकाइ लाग्यो भनेको
कहिल्यै सुनेको छैन
मलाई दशैँमा नयाँ लुगा किन्दा आफूलाई किनेको
कहिल्यै देखेको छैन
मेरो स्कुल फी तिर्न साहूकहाँ गुहार्दा
उहाँले जति वचन र कष्ट
मैले भोगेको छैन
सधैँ ढुङ्गामा बजारिरहने हात देखेँ
तर देखेजस्तो मात्र गरेँ
दस ठाँउमा टालो हालेको भोटो हेरेँ
तर हेरेँजस्तो मात्र गरे
भारीको दाम्लोले उखेलिसकेका कपाल छोएँ
तर छोएजस्तो मात्र गरेँ
समयसँगै
मेरो पनि अलि अलि पंख पलाएछ
पैसा हुँदा साथीभाइ सम्झिएँ
वैँश हुँदा प्रेमिका सम्झिएँ
घरमा छँदा छिमेक सम्झिएँ
देश विदेश सम्झिएँ
तर
जब गोजीको वचत सक्कियो, बुवालाई सम्झिएँ
बर्खामा चुहिने घरको लागि
हिउँदमै खर काटेर राखेको आज सम्झिएँ
अर्को वर्षको स्कुल फीका लागि आज नै भौँतारिएको
सम्झिएँ
रामेको बुवाले भट्भटे किन्दा मलाई काठको घोडा
बनाएको आज सम्झिएँ
जीवनभर बजारिएका ती हात बिर्सिरहे
हातमा के भएको भनी सोध्दा
तिमीले खान नमिल्ने ऐंसेलु फलेको भनेको आज सम्झिएँ
आज जब खाडीमा मेरा हातमा ठेला परे
फेरि आज बुवालाई सम्झिएँ ।
शैल्यशिखर ४, दार्चुला



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२२ कार्तिक २०८२, शनिबार 









