खै के छ होला यो खप्परमा
सबै यसैको पछि लागेका छन्
पहिला खेतबारी खान खोज्थे
धन सम्पत्ति लुट्न खोज्थे
अब त ती सबै केही हैनन् रे
खनिज, जडिबुटीभन्दा बहुमूल्य त खप्परभित्र छ रे
शून्य र एक बनाएर
खप्परबाट धरै खुस्काउन खोजे
हातमार्फत त कति लगिसके
श्रव्यदृश्यमार्फत नि सबै लगिसके
मुखमार्फत नि सबै ओकल्न लाए
ए बाबा म भाषा बुझ्दिनँ भन्दा नि सुख पाइएन
नेपाली, संस्कृत, नेवारी, मैथिली
जेमा बोले नि हुने रे
लगेरै छोड्ने रे छन्
हामी ‘जे पायो त्यहीलाई’ जेपिटी भन्थ्यौँ
अहिले जिपिटी आको छ रे
त्यसैले मिलाएर लाने रे छ !
पहिला शिरमा टोपी हुथ्यो
त्यसले छोप्न खोज्थ्यो
पछि त्यो पनि फुकाल्न लगाए
अनि कपालले ढाक्न खोज्थ्यो
अब त्यो पनि खुइलियो र निर्वस्त्र भैसक्यो
मिल्ने भए त सिधै झीर खोपेर झिक्थे होलान्
नमिल्ने रहेछ
तर जसरी नि लैजाने रे, हेर्नुहोला लगेरै छोड्छन्
अस्ति कुन्नी के चिठ्ठा परेको छ भनेर लोभ्याएका थिए
मैले पत्याइनँ अनि खप्पर भित्रको जोगाएँ
पछि तेरो आफन्तीलाई बित्याँस पर्यो
भनेर फकाउन खोजे, तैपनि म फक्किन
जालन्धरी रुपझैँ विभिन्न औतारमा पठाउँछन्
तर सकेका छैनन्
सुनेको
कुन्नी कता समुद्रभित्र थन्क्याका छन् रे
देख्ने, सुन्ने, बुझ्ने सबै लगिसके
अब बाँकी के होला र यो खप्परभित्र
त्यो नि चाहियो रे !
मस्को कि के भन्नेले अब खप्परभित्रै चिप्स हाल्ने रे
मुसा, बाँदर हुँदै अब मान्छेमै जाक्दिने रे
पालो पहिला हाम्रै खप्परको त होला नि
जोगाइदिनुछ यो खप्पर कतै नछल्कियोस्
ताकि उनीहरूले नै चिप्स छिराएर
सबै शून्य र एक बनाएर लैजाऊन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।