म त भावनामा राम्रै थिएँ
तिमीले मेरा आखाँहरूलाई
लोभी मानेर आफैँ हेरिदियौ
अनि पो म लोभीजस्तै भएँ

म त मेरो दृष्टिमा राम्रै थिएँ
तिमीले मेरा कानहरूलाई
कुरा सुन्ने भनी आफैँ बुझ्यौ
आफैँमा आफ्नो शंका बनायौ
अनि पो म तिमीझैं शंकालु भएँ

म त मेरा सोचहरूमा राम्रै थिएँ
तिमीले मेरा ती आशयहरूमा
आफ्नु आफ्नै आशाहरू भरेर
अनुकूलताको स्वार्थमा बुझ्यौ
अनि पो म तिमीझैं स्वार्थी भएँ

म आफू आफैँ त राम्रैजस्तै थिएँ
मेरा जिजीविषाका आधारहरूमा
विभिन्न उद्देश्यलेअनुमानहरू थपिए
धेरै आशाका भावना जोडिए
म म मात्र होइन, ममा प्रतिकूल छ
अनि पो म अनुमानजस्तै भएँ

म त पानी जस्तै कञ्चन थिएँ
तिमीजस्तै जीवनका रागहरूले
मलाई विवेकशून्य बनाइदियो
मेरा मनका कैयन आँशुहरूमा
तिमी अनेक रूपमा खेलिरह्यौ
पटक पटक तिमीले मलाई
आफ्नो अनुकूलतामा बुझ्यौ
अनि क्रमशः म तिमीजस्तै भएँ ।

विरूवा, भक्तपुर