समय बगिरहेछ
टिकटिक टिकटिक
घडीको रफ्तारमा
जीवन नविनता खोज्छ
अतीतसँग चुरमुर्रिदै
भविष्यका अनगिन्ती आकाङ्क्षाहरु
वर्तमानको जाँतोमा
पिसिदै लेपेस्सिएका छन्
कटकटिने गरी
आशाको मधुरो
उज्यालो साँचेर

आउँछ, पक्कै आउँछ
नयाँ दिन नवजीवन बोकेर
प्रभातको लालीमा किरण छर्दै
र भेट्छ बिहानीको पालुवाले शीतको थोपा
रातभर जमेको
पीडाको समुद्र छचल्किएर
झरेका आफ्नै आँशु
त्यो पनि त
जिइरहने ऊर्जाको
विशाल स्रोत हो ।

नआउने हैन
उर्लेर उल्लासपूर्वक
विषादको भाका
र छोडेर जान्छ
अलिकति मुस्कान
तर दूर हिमालबाट टल्कने
उज्यालोको परावर्तन
कतिञ्जेल टिक्छ र ?

भोकको कमण्डलु
समय थापेर पासोमा
प्रतीक्षा गरिरहेछन् वसन्तको
एक पटक त आउनु पर्ने हो समय
उल्लास बोकेर वर्तमानमा
तर किन आउँदैन ?

आफन्तको आशीर्वाद
मानेर शिशिर
सदावहार छाइरहन्छ निधारमा
बाह्रैमास बर्सिरहने
चिसा वचनहरूबाट
कठ्याङ्ग्रिएको मन
आवेगमा अलिकति
पग्लिएको वेदना
दुई थोपा आँसु रोपेर वर्तमानमा
उर्वरता खोज्नु मुर्खता हो ?
समय मलाई जवाफ देऊ !

आफ्नै महत्त्वकाङ्क्षाले थिचिएर
थलिएको म
तिम्रा इच्छाका कुण्ठाहरु बोकेर
दौडन सक्दिनँ
तिम्रा आशाका लगामहरु
तिमी आफैँ खिच
म तिनमा लतारिएर
लड्खडिएको छु ।
र बिर्सिन्छु
समयको पर्खाइमा थिए म
समय जो मसँगै घिस्रिरहेछ
र म फेरि समयकै प्रतीक्षा गरिरहेछु ।

कपन, खरीबोट