तिम्रा उन्मादका नृत्यहरूले छाडेका डोबहरू बोकेर
फुङ्ग उडेका ध्वाँसे शिलाहरू टोलाइरहेछन् यहाँ
कुनै दिन घामका छालहरूले बगाउनेछन् तिनलाई पनि
नदीले बालुवा बगाएजस्तै
तिम्रा उपहासका मुस्कानहरूले छरेका सुवास
समयको उम्दा परिचय बनेर बिकिरहेछन् यहाँ
मानिसका सम्बन्धका पसलहरूमाझ
कुनै दिन सिद्ध्याउनेछ त्यसले यो शहरलाई पनि
विषकन्याको चुम्बनले राजकुमारहरू सिद्ध्याएजस्तै
नाच्न त नाच
तर, तिमी यस्तो समय-संघारमा नाचिरहेछौ
जहाँ भेटिन्छन्
जिउँदै अत्यासले जलाइएका धिरताका महारथिहरू
लखेटिइएर निराशाका भिरमा चुँडिदैगरेका आशाका नेतिहरू
तिम्रो शहर माझ
हाँस्न त हाँस
तर, तिमी यसरी मुस्कुराइरहेछौ
जसरी मुस्कुराइरहेका भेटिन्छन्
वीरताका श्रमिक पराईका शिविरमा बेच्ने तस्कर जस्ता भरोसाहरू
धुरी मात्र बाँकी राख्ने गरी ग्वाम्लङ्ग अँगाल्न आइपुग्ने बाढी जस्ता इमानहरू
तिम्रो शहर माझ
ठीकै छ सरकार
तिमी नाचिराख
भर्खर त जवानीमा नाच्दैछौ
तिमी नाचिराख
धित मर्ने गरी जवानीमा कहाँ नाच्न पायौ र ?
तिमी नाचिराख
नसुन, केही पनि नसुन
नसुनेझैं गर, जे पनि नसुनेझैं गर
कहालीको यही उजुरी बोकेर
घस्रिरहेको छ एउटा मानिस
जहाँ ईश्वरको बहिखाता हेर्ने तिमीजस्तै छ कोही
जो लेनदेनको हिसाब नमिलेसम्म
फूस्रो चन्दनको भ्रामक भरोसा मात्र दलिदिन पनि तयार छैन
उसको निधारमा
र त, तिम्रो आनर्त-शहरमा मानिसहरू अचेल
निर्मम हत्याराका रगताम्य आँगनका इतिहास पनि
स्वर्णिम समयको कथा सम्झेर सुनिरहेछन्
तर, सायद तिमीलाई त
हिजो तिमीले नै अतिरञ्जित गरेका बग्गीहरूमा बसेर
यो शहरलाई तिम्रो अवतार देखाउनु मात्र छ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।