मध्यरातमा उज्यालाे छर्दाछर्दै
हराएकाे कुपी
न साँझ, न बिहान
मध्याह्नमा समेत राँकाे बालेर
खाेज्ने बेला भएकाे छ
तिम्राे त्याे इतिहास ?
हाे ?
त्यही कुपी हो ?
भानुभक्तले घाँसीसँगै
रचेका ती हरफहरूकाे सहारा

हाे ?
तिनै लालटिन हुन्
विद्राेहकाे राँकाे बाल्ने
सायद
कुपी नहुँदाे हाे त
कवि शिराेमणि लेखनाथकाे
कविता कुपीकाे सलेदाेसँगै
जलेर धर्तिमा विलिन हुने थियाे
आज तिनै कुपीले बदलिँदाे रूप
लिएकाे छ ।

कुपीकै फेरमा
महाकविकाे उदय भयाे
सँगसँगै आँशुकवि
युगकवि हुँदै राष्ट्रकवि
जन्मायाे कुपीले
हरायाे कुपि, हरायाे लालटिन
उज्यालोसँगै
साहित्यका रसहरू पनि हराएका
छन् यहाँ

उन्मालिदाे उज्यालाेले
आज पारिजातलाई बिर्सिदैछ
कवि केसरीहरू धर्तिबाट
हराए जस्तै गरी
कविका मनहरू पनि
छिन छिनमा
भौँतारिदा-भौँतारिदै
आज नयाँ अग्निको रूपमा
ज्वाला बन्दैछ यहाँ
त्यसैले त हामीले
धर्तिमा उज्यालो छर्ने
कुपीहरूको संरक्षण
गर्नुपर्छ यहाँ

लालटिन भित्रका निस्सासिदो
नयनहरूले आज
नयाँ परिवेशकाे खाेजी गरिरहेकाे बेला
सर्पका माेती टिप्न
सर्प मार्न तम्सेकाहरू
राेकिनु पर्छ अब
सर्पसँगै माेती पनि
मर्न सक्छन् यहाँ
त्यसैले त
कविताका ती कुञ्जीहरूलाई
बचाइराख्न हामीले
जन्माउनुपर्छ यहाँ
कयौँ लालटिन
अनि
कयौँ कुपीहरू ।

मणिकुमार श्रेष्ठ सिजन
साल्पासिलिछाे, भाेजपुर