अरूण पाैडेल

ए जिन्दगी
सधैँजस्तो आज पनि
उदायो सूर्य
तर म
बिल्कुल अञ्जान छु आजकल
कुन बेला उदाउँछ सूर्य
कुन बेला अस्ताउँछ सूर्य
म बिस्ताराबाट मेरो समयमा उदाउँछु
घाम आफ्नै सयममा उदाउँदो हो
घरमै छँदा
बिहानै उठेर घर बाहिरको खाटमा बसी
चिया पिउदै गर्दा
मोठ माथिबाट जाँदै गरेको घामको झुल्को
मसम्म आउँथ्यो

सायद म पनि बिरानो भएँ
सायद घाम पनि बिरानो भएर होला

आजकल बिहानीका पारिला घामहरु
मलाई छुन आउँदैनन्
आउन त आउँछन्
मात्र तेजिला प्रकाशहरुले पोलेर जान्छन्।

ए जिन्दगी
खोइ कस्तो हुन्छ भाग्य
कहाँ हुन्छ भाग्य
कोही घरदेश छोडेर विदेशका भव्य महल देख्नुलाई
भाग्य सम्झन्छन्
कोही आफ्नै माटोमा पसिनाको कमाई खानु भाग्य सम्झन्छन्
विदेशका भव्य महल,
रेलका लिक र डिब्बाहरू हेरेर मात्र जिन्दगी चल्थ्यो भने
म पनि मेरो घरको एउटा कोठामा ठूलो पोस्टर बनाएर टाँस्ने थिएँ।

म यता विदेशका चिल्ला बाटोहरुमा
ट्याक्स तिरेर हिँड्छु
उता मेरो घरको आँगनमा दुबो र मोथे उम्रन्छ
बा-आमाको हातमा ठेला उम्रन्छ
सम्झिदा आफ्नै जिउमा काँडा उम्रन्छ
भन ए जिन्दगी
उता घरको आँगनमा मोथे र झार हुर्किरहँदा
मेरो सरकार लाश र रेमिटेन्ससँग फुर्किरहँदा
अनि म कसरी भाग्यमानी हुन सक्छु?

जिन्दगीका उधारो हिसाबहरु मिलाउने व्यस्ततामा
धेरै कुराहरु छुटेका रहेछन्
ए जिन्दगी, थाहा छ तँलाई?
आफ्नै पिँढीमा बसेर
आकाश नहेरेको धेरै वर्ष भएछ
जून नदेखेको वर्षौं बितिसकेछ
र, तारा नगनेको पनि धेरै वर्ष भएछ।

ए जिन्दगी
म त्यही अभागी हुँ
समयले बिस्तारै
बिहानीको पारिलो घामबाट छुटायो
जून देख्ने समयहरुबाट छुटायो
तारा गन्दै सुत्ने रातहरूबाट छुटायो
र, समयले यसरी छुटायो कि
आफ्नै घरको आँगनबाट छुटायो।

 

चितवन, नेपाल
हालः जापान
उपाध्यक्ष, अनेसास जापान