
महेश्वर शर्मा
पारि भञ्ज्याङको रमेश
दश वर्षअघि परदेश लागेको हो
माथिल्ला घरे विजयको पासपोर्टमा
भिसा लागेपछि
उसले विजय उत्सव नै मनाएको हो
आफ्नै घर छाउन जीवनले
घर छोडेकै हो
मेरो देशको छानो छाउन
मजस्तै महरुले देश छोडेकै हुन्।
मजस्तै महरु
छातिमा देश टाँसेर बाँचिरहेछन्
परदेशमा
उता देश दुख्दा परदेशका
महरुको पनि देश दुख्छ
उता देशको हृदय भत्किंदा
यता महरुको पनि हृदय भत्किन्छ
उता देश रुँदा
परदेशका महरुको पनि आँखा रसाउँछ
यी महरु यस्तै छन्
भन म के गरुँ?
मेरो घरको दलिन, पिँढी
मझेरी र आँगन भरि महामारीको
आक्रान्त बोकेर सिङ्गो घर काँपिरहँदा
परदेशका महरुको
हृदयको घर पनि काँप्दोरहेछ।
भन के गरुँ ?
यी महरु यस्तै छन् अचेल
घरको पिँढी कुरेर बसेकी मेरी आमा
मेरो बा, मेरी श्रीमतीले
मेरो सानो छोरालाई सम्झाइरहेछन्
र भनिरहेछन्
तिम्रो बा भोलि आउनुहुन्छ
र हामी सँगै हुनेछौँ
मेरो छोराको भोलि कहिल्यै आएन भने?
परदेशका महरुले
यस्तै सोधिरहेछन् भनिरहेछन्
परदेशका महरुको भोलि कहिले आउला?
उता घरको छानो छाउनु छ
बा आमालाई दुई छाक खाना खुवाउने
जोहो गर्नु छ
श्रीमतीलाई नयाँ लुगा हालिदिनु पर्नेछ
सानो छोरालाई खेलौना किनिदिनु पर्नेछ
पेटभरि खान पुग्ने
एक हल मेलोको बारी
आफ्नो बनाउनु छ
यत्ति सपना पूरा गर्नु छ
तर परदेशका महरुको जीवन नै बाँचेन भने?
हरेक बिहानको सूर्य उदयमा
आफ्नै सन्ततिको मुस्कान मिसिएको
पारिलो घामको पर्खाइमा
रमाउने परदेशका महरुको
सपना कतै स्खलित भयो भने?
बा आमाको भोको पेट कसले भर्ला
घरको छानो कसले छाउला
मेरो देशको छानो कसले छाउला?
अध्यक्ष
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, न्यु साउथ वेल्स, अस्ट्रेलिया



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

