कोमल मनोभाव नष्ट हुँदै छन्
जमिनमा गाडिएका मृतदेहहरू
प्राङ्‌गणमा नरम लताझैँ झाङिदै छन्
वसन्त हाँसे जस्तरी प्रसन्नचित्त छन्
सुकुमारलाई खुट्टाले कुल्चिएर
अथाह समुद्रको कोखामा
ढुङ्गा हानेर तरङ्ग उत्पन्न गर्दैछन्
अमर्षका ज्वालाले जोख्दा जोख्दै
पाखो डडाएर झलमल्ल उज्यालो बनाई
प्रकाश भित्र्याउन खोज्दै छन्
अँध्यारो छर्न व्यस्त शिल्पकारहरू
अस्थिरताका जोरन बन्दै छन्
आकाशे पवन समाउन खोज्छन्
गतिहीन उड्न सिकाउँछन्
फ्याँकिनु र फाल्ने नियति बढ्दै छ
माया छर्ने पथमा वैरभाव छर्दै छन्
अविस्मरणीय कठोरतामा फलेको दुष्कर्म
मदमत्त वयस्क साँड जाइलाग्दै छ
अनाहक लखेट्दै छ ।

 

इमाडोल, ललितपुर