भुजङ्गप्रयात छन्द

गरी माथ उच्चो, सधैँ सत्य बक्ने
कतै न्याय मर्दा, बनूँ बोल्न सक्ने
म स्वाधीन मान्छे, कसै हुन्न दास
निचो चाकडी त्यो, नहोस् है म बाट।।

गरूँ कार्य सच्चा, नहोस् क्वै कुकर्म
रहोस् भाव उम्दा, म थामूँ स्वधर्म
नहोस् देह अल्छी, गरूँ योग ध्यान
लिऊँ यो जगत् को, सबै तत्त्व ज्ञान।।

नखाऊँ कसैको, म सित्तै दिए नि
नराम्रो नसोचूँ, म बैरी भए नि
सबै मित्र मेरा, दिऊन् साथ उम्दा
दुई छाक पुग्ने चलून्, काम धन्दा ।।

मिलोस् खान सादा, नहोस् पेट भोको
गरूँ चाह थोरै, बनोस् आत्म चोखो
सबैको जगत् मा, भलो सुक्ख चाहूँ
म यस्तै स-साना, कुरामा रमाऊँ।।

परोस् कष्ट जस्तै, नहोस् बुध्दि तुच्छ
बनोस् चित्त मेरो, सधैँ सत्य स्वच्छ
म बस्ने कुनामा, रहुन् देव मूर्ति
हऊन् ईश मेरा, यिनै चाह पूर्ति।।

 

म्याग्दे ३, तनहुँ