न सोध्नुहोस् , म कहाँ छु हिजोआज
र किन हुन्छु आफ्नै व्यस्ततासित सधैं
किन भेट्नलाई पनि साह्रै छ मेरो उपस्थितिलाई

म बहुतै चिन्तित छु भाइ, के भन्नु र
अचेल म पनि एउटा घर बनाउँदैछु

रित्तो खल्ती र आँखाभरि पुरै भरोसा बोकेर
कैयौंपल्ट चहारेँ स-साना गल्ली र घुमाउरा बाटाहरूमा
शून्य सडकमाथि कुदाएँ निर्दयी पाइतलाहरू
कति झरे रगतका थोपाहरू भूईंभरि
त्यहींबाट नै हुर्किए मेरा घडेरीका नयाँ जराहरू

म बहुतै व्यस्त छु भाइ, नसोध्नुहोस्
किन साह्रो छ मलाई भेट्नलाई
म पनि एउटा सानो घर बनाउँदैछु
जहाँ बिताउनेछु बाँकी रहेको सम्पूर्ण जीवन
सपना सजाएर राख्दै बितेको हुन्छ रातको गहिनता
गफिएर फिका चियासित सुनौला दिनको झझल्को
हत्केलाभरि आत्मीयताको मीठो अनुभूतिको पोको

त्यसैले, तपाईं मसित रिसाउनु भएको होला
अचेल किन होला एकपल्ट पनि सोध्नुहुन्न –
किन भेट हुँदैन नदीको किनाराको पुरानो घाटमा
पिकनिकमा, बिहेमा, फुर्तिमा कि त दुःखमा
प्रत्येक उत्सवको उल्लासमा कि त एक्लोपनको आवेशमा

म बहुतै दुःखी छु भाइ
के गर्नु र, म पनि एउटा घर बनाउँदैछु

बाजेले रोपेको विरुवामा अलि अलि पानी चढाउँदै छु
बाबाले जोडेर गएको पाइतलाको छापलाई आँकेको छु
मुटुभित्र, घडेरीको निर्माणका लागि खटिएको छ
मेरो समग्र सत्व, उत्तरकालका लागि

मेरो व्यस्तता देखेर तपाईं हाँस्नु हुन्छ होला
ठीकै हो, मैले पनि कहाँ पो समात्न सकेँ र
समयको तिखो पखेटालाई
जति जति म आउन खोज्छु तपाईंहरूको नजिक
हुत्त्याइदिन्छ अनाम हुरीले
किनाराहीन नदीको गहिराईतिर

घर बनाइसकेको छैन, ईंटा-बालुवा अझै थुपार्दैछु
लिप्दैछु भित्ताहरूमा सेता काला रङ्हरू
मेरो जन्म र मृत्युको भूगोलमा आँकिएका चित्रहरू
कुरुपता, सङ्घर्ष, दीनता, अभाव र रहरका अनुहारहरू
जीवनले दिएको अलिकति सहृदयता
अनि मृत्यु अघिसम्मको अविरल आन्तरिकता

भाइ, म पनि यसरी एउटा घर बनाउँदैछु
कुनै दिन यतातिर डुल्दै आउनु होला समय उबारेर
पिँढीमा बसेर दुवै जना रातो चियाको चुस्कीसँगै
साटौंला इतिहासले बोकेर ल्याएका जम्मै अफ्ठ्याराहरू
कुनै एउटा एकान्त विवर्ण गोधूलिमा…।

 

तेजपुर,असम,(भारत)