दलिनहरू मक्काइसकेका छन्
चोयाहरू फुकिसकेका छन्
पुरानो छानो सट्याकसुटुक चुहुन लागेको छ
गुजुल्टो परी बस्दा पनि
पट्याँसको छाता खोज्नुपर्ने भएको छ

ढिप्री बालेर
घिचिघिची गर्दै कुँडो काट्दैछु
जाडोले मर्न लागेका बस्तुभाउलाई
खोले तयार गर्दैछु
भस्मासुर यो कठ्याँग्रिने जाडोमा
आफू पनि बाँच्नु छ
यिनलाई पनि बचाउनुछ

घरमा पाहुना आएका छन्
घरबुढीलाई चामल, दाल र भुटुनको चिन्ता छ
अनि चिन्ता छ दाबिलो र कसुँडीको

जसैतसै तयार हुन्छ भोजन
अम्खोरामा पानी टक्र्याएर
गर्छिन् चौकामा स्वागत

धन्न छिमेकीले पैँचो दिएछन्
र खान पाए पाहुनाले
आफ्नो त ढुकुटी रित्तै थियो
बुइँगलमा धुँवा लागेको दलिनबाहेक केही थिएन

हे गरिबी !
तँलाई धेरै धेरै धन्यवाद !
तेरो आशीर्वादले गर्दा
उखु भएर निचोरिँदै सख्खर बन्न पाएका छौँ ।