१३.
एक नम्बर मुखले चुपचाप संकेत मात्र गर्छ
दुई नम्बर बोल्छ
तीन नम्बरले त्यही दोहोराउँछ
चार नम्बरले प्रशंसामा वाह-वाह गर्छ
पाँच नम्बरले छः नम्बरीको कानमा खुसुक्क त्यही कुरा हालिदिन्छ
त्यो झसङ्ग हुन्छ
सात नम्बरले भन्छ, यी सबलाई पिटिदिओ
आठ नम्बर  खित्का छोडेर हाँस्छ
नौ नम्बरले  दस नम्बरलाई प्रश्न गर्छ, ‘यहाँ के भइरहेको छ हँ ?’
दस नम्बरले भन्छ, म बहुत दुखी छु यार
नौ जनाले बुझिहाल्छ
उनीहरूलाई आफ्नु काम जारी राख्नुछ  !
चक्र चलिबस्छ !!
वाहियातका दस टाउका, दस मुख
र दशाननहरू  !!
१४.
स्वीडेनमा उन्को नाम नोबेल पुरस्कारको सूचीमा सूचीकृत भइरहेथ्यो
बेलायतमा बुकर प्राइजको निम्ति
उनको नामको घोषणा हुनै लागिरहेथ्यो
फिलिपिन्समा रेमन म्याग्सेसे पुरस्कारको निम्ति
उनको नाममाथि चर्चा भइरहेथ्यो
अक्सफोर्डमा उन्को नाममा एउटा भव्य कुर्सी
स्थापनाको कार्यसूची तयार पारिँदै थियो
हार्वर्डमा उन्को स्पीच र राईटिंग्सलाई पाठ्यक्रममा
समावेश गरिने निश्चित भइरहेथ्यो
र कोलम्बिया युनिभर्सिटीमा उन्लाई पछिल्ला
दशकको सबभन्दा ब्रिलियन्ट विद्यार्थीको खिताब
दिइने तय भइरहेथ्यो
दुनियाँभर उन्को कीर्ति फैलिने तय थियो
ठीक त्यही समय गुगलमा
हाम्रो देशमा भने
मानिसहरूले
उन्को जात, थर, सम्प्रदाय, धर्म विषय लिएर
खोजी गरिरहेका थिए !!

 

सिलगडी, भारत