त्यसो नभन न
म जन्मेको त्यही ठाउँ
मेरो सालनाल गाडेको त्यही ठाउँ
त्यै ठाउँ हो, यी मेरो खुट्टाका खतहरू
दागहरू
अलिकति खुशीका धर्साहरू
चीरकालसम्म रहिरहने छन्, त्यै मेरो गाउँमा

मन दुखे, मलमका भारी बोक्नेहरू
विरक्तिए, आत्मियताको झरीसरी बर्सिने बादलहरू
चिसोले कठ्याँग्रिने जाडोमा
अलिकति भुटेका मकैसँगै
सम्झनाका तरेलीहरूसँगै हाँसीहाँसी भन्छु
गाउँमा के छैन ? सबथोक छ
तिमी रुँदा
तिमी हाँस्दा
तिमीले गाउँदा
तिमी नाच्दा
छटपटिँदा, लरखराँदा…
सप्रेम दैलो खोल्ने, हजार मन छ । लाख मन छ । अनि भन,
गाउँमा के छैन ?