एक दिन मैले आमालाई सोधेँ
आमा यो ‘कू’ भनेको के हो ?
कुविचार
कुमार्ग
कुलत
कुकृत्य
कुकर्म
कुरीति
कुदृष्टि
के हो कू ?

आमा मौन बस्नुभो
म नरोकिई फेरि सोधेँ
कुण्ठा
कुचाल
कुचक्र
कुचेष्टा
कुबुद्धि
कुभलो
कुठाराघात
के हो कू ?

मलाई देखेर आमाले मौनता तोड्नु भो
छोरा !
कु भनेको कुर्सी हो
कुर्सी इतिहास हो
भूगोल हो
देश हो
क्रान्ति हो
विरासत हो
लोकतन्त्र हो
संविधान हो
समृद्धि हो
सुख हो
सबथोक हो कुर्सी

आमाले नरोकिईकन भन्नुभो
हो छोरा,
कुर्सीकै लागि
इतिहासका धेरै कूहरू
बन्द कोठाभित्र कागज र कलमको सहाराले सहमतिमै गरिएका छन्

मैले मुन्टो हल्लाएँ

अचेल म मौन छु
प्रश्नहरूले खाउँला झैं गरे पनि
चोक चोकमा कूकै लस्कर देखे पनि
अब म आमालाई कुनै प्रश्न सोध्न चाहन्नँ ।