जस्का हेर्छु तीता मीठा सपनीमा, तिम्रै छ आशा अति
हाम्रा छन् धमिला कथा जीवनका तिम्रै छ छायाँ जति
छुट्याउँछ मलाई के दिनदिनै, पर्खाल छन् खै कता
प्रजाका बीचमा कहीँ नसुनिने, सरकार छन् खै कता

बाढीझैँ हर खेतमा पसिदिने, साँढे र मत्ता बनी
भ्रष्टाचार गरी बसे महलमा, कस्ले सजाय दिने
के तिर्नु कर देखी यो हरिलीला, भण्डार छन् खै कता
भोकैले जनता सबै मरिसके, सरकार छन् खै कता

माग्छन् माग्न त भोट लौ खनखनी, पल्टाइ दिस्यो भनी
उफ्रे त्यै मतको सिँढी चढी चढिचढी, निर्धा यी मुण्डै गनी
सोधे सिर्फ पुगेर माथि यिनले, दरबार छन् खै कता
ती आन्दोलन बन्द भो बीचबीचै, सरकार छन् खै कता

सिङ्गा मुण्ड र भेलझैँ रगत छन्, यो स्वर्गको बस्तिमा
लुटिदै छन् बालिका सडकमा, खुद् न्यायको गस्तिमा
हाम्रै गर्धनमा चलोस् खुकुरी, तरवार छन् खै कता
डोरीमा रुखमा छ लास मठमा, सरकार छन् खै कता

घुम्दैछन् कि विदेशका शयरमा, चिल्ला जहाजै चढी
खै पुगे कि ती चन्द्रकै सतहमा, छैनन् त धर्ति भरी
रेडियो सब टेलिभिजन अहो ! अखबार छन् खै कता
थाकेछन् सब दुरबिन पनि लौ सरकार छन् खै कता