म सहरमा बसेर गाउँ खोज्दै छु
म सहरमा बसेर गाउँकै कविता लेख्दै छु
सहरका हल्लाहरूको बीचबाटै गाउँलाई डाक्दै छु
मेरो कविताले
कति जाती पार्यो कुन्नी गाउँको घाउ ?
कति बढायो कुन्नी गाउँको भाउ ?
अहँ, थाहा छैन
तर मेरो घाउ भने केही सन्चो भएको छ
मेरो भाउ भने केही बढेको छ
अहो !
रमाएको रहेछु म गाउँको कवितामा
गाउँलाई नै दुखाएर बेस्सरी !
रबरको पन्जा लगाएर माटो छोएजस्तो मात्रै रहेछ
सहरमा बसेर गाउँ खोज्नु भनेको
फुटिजाने पारदर्शक ऐनाबाट फूल हेर्नु मात्रै रहेछ
सहरमा बसेर गाउँको कविता लेख्नु भनेको
गाउँको भोक/गाउँको शोक/गाउँको रोग
जाती पारे/पारेनन् गाउँका कविताहरूले
अहँ, थाहा छैन
तनले छोडेर मनले मात्र जोडेर कहाँ हुँदोरहेछ र !
गाउँलाई दुख्दा मेरो मन मात्रै रोएर कहाँ सन्चो हुँदोरहेछ र !
गाउँलाई त उसको भोकमा मेरो हातबाट अन्न चाहिएको रहेछ
गाउँलाई त उसको शोकमा मेरो आँखाबाट आँसु चाहिएको रहेछ
गाउँलाई त उसको रोगमा मेरो हातबाट औषधि चाहिएको रहेछ
उसको आँखाले मलाई नै रोज्दो रहेछ
म भने सहरमा बसेर गाउँ खोज्दै छु
गाउँले भने गाउँमै बसेर मलाई खोज्दै छ
म भने सहरमा बसेर
गाउँकै कविता लेख्दै छु
गाउँले भने गाउँमै बसेर मेरो अनुपस्थितिमा विरह गाउँदै छ
गाउँको मौन प्रार्थना रहेछ मप्रति यस्तो—
“तिमीले गाउँमै बसेर गाउँलाई खोज
तिमीले गाउँमै बसेर गाउँको कविता लेख
गाउँका हल्लाहरूको बीचबाटै गाउँलाई डाक
तिम्रो न्यानोपन गाउँलाई चाहिएको छ
तिम्रो आफ्नोपन गाउँलाई चाहिएको छ
सहरमा बसेर तिमीले लेखेको कविताले
अहँ,अन्न दिएन गाउँलाई भोक मेट्न
अहँ,पानी दिएन गाउँको तिर्खा मेट्न
गाउँ रोइरहेछ आज
हररात शून्यताहरूमा
हरदिन हाहाकारहरूमा
तर अहँ,सहरमा बसेर लेखिएको
तिम्रो कविताको भेलले गाउँको पीडामय शून्यता बगाउन सकेन
तिम्रो कविताको हुँकारले गाउँको उदासीनता भगाउन सकेन
हो साँच्चै !
सहरमा बसेर लेखिएका कविताहरूले
गाउँलाई जाती पारेनन्
गाउँको भाउ बढाएनन्।”
तर अझै पनि
म सहरमा बसेर गाउँ खोज्दै छु
म सहरमा बसेर गाउँकै कविता लेख्दै छु
सहरका हल्लाहरूको बीचबाटै गाउँलाई डाक्दै छु ।
डाउहिल,खरसाङ, भारत
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।