म झस्कन्छु, टोलाउँछु
म सोचमग्न हुन्छु..
आफूलाई प्रश्नको समुद्रमा डुबाउँछु
तर पनि अनुत्तरित हुन्छु
म प्रश्न भित्रै प्रश्न गर्छु
र फेरि नयाँ प्रश्न जन्माउँछु
म उत्तर पाउनकै लागि प्रश्नसँगै लगातार युद्ध गर्छु
वाक युद्ध, गृह युद्ध… विश्व युद्ध
अनि प्रश्नद्वारा प्रश्नकै हत्या गर्छु

म समय यात्रामा हिंड्छु..दौड्न्छु..कराउँछु, बौलाउँछु..

यसैमा एकदिन
म पुरुषोत्तम रामसँग भेट्छु
“के अब पनि नारीले परीक्षा दिइराख्नु पर्छ र ?”
परन्तु आफ्नै अर्धागिङ्नी सीतालाई अग्निपरीक्षा गर्न लगाउने उनी किन बोल्न सक्थे र ?

म प्रश्न गर्छु महामहिम भीष्मलाई
“महामहिम के अब तिम्रो प्रतिज्ञा तोड्ने बेला भएन र ?”
आफ्नै बधु द्रौपतीको वस्त्रहरण हुँदा त बोल्न नसक्ने उनी आज जो लुटिए पनि किन बोल्न सक्थे र ?

म फेरि युधिष्ठिर समक्ष पुग्छु
“हे चक्रवर्ती अब त नारीलाई पूजा गर्नुपर्ने बेला आएन र ?”
आफ्नै धर्मपत्नीलाई जुवामा दाउ लगाउने उनी पनि किन बोल्न सक्थे र ?

म फेरि माता कुन्तीसमक्ष पुग्छु
“अब त ती शिशुहरू नदी वरपर देखिनु नपर्ने हैन र?”
हुन त आफ्नै पुत्रलाई गंगामा बगाइदिने उनी झन् के नै बोल्न सक्थिन् र ?

म प्रश्न गर्छु श्री भगवान् कृष्णलाई
“हे द्वारिकाधीश, के अब गृहयुद्ध रोक्ने बेला भएन र?”
आफैं वंशविनाश गर्न बाध्य भएका उनी कसरी पो उत्तर खोज्न सक्थे र?

अब म प्रश्न गर्छु महात्मा बुद्धलाई
“के अब सबै प्रवासीलाई घर फर्काउने बेला भएन र?”
परन्तु आफैँ घर छोडी जाने उनी के बोल्न सक्थे र ?

सबै युगका महामानवहरूसँगको भेटबाट पनि म रित्तो हात फर्कन्छु…
म विलिन हुन्छु,अन्धकारमा
म स्खलित हुन्छु वालुवामा…
म धुमिल हुन्छु त्यो वायुमा…
अनि म शून्य प्राय: रहन्छु
र, सबै महामानवको मौनताको रहस्यबोध गर्दछु कि
पहिले कानुन र वचनमा बाँधिएकाले सबै मौन थिए
तर अहिले कानुन र वचनलाई बाँधेकाले सबै मौन छन् ।