कमी छैन यहाँ
ती छेपारोहरूको
कमी छैन यहाँ
ती रंग फेरी
दल-बदल गर्नेहरूको
हिजोसम्म त्यो छेपारो
रातो रङले रंगिएको थियो
रातो रङको गुण गान
जी हजुरी गर्दै थियो
आज त्यही छेपारो
सेतो रङले रंगिएको छ
सेतो रङको
गुणगान, जी हजुरी
र,
रातो रङलाई
नानाथरि भन्दै हिँड्छ

रातो रङले रंगिएको बेला
उसका निम्ति रातो रङ नै
सर्वपरि थियो
फूल रातो
लुगा रातो
सबै नै रातो मन पर्थ्यो
अहिले भने चैं
रातो दुश्मन
सेतो सर्वपरि भएको छ

रातो फूलमा बसेको
ती साना साना भँवराहरूलाई
निर्दयी खाने गर्छ
र,
सेतो फूलका
सबै ती खाँगोहरूलाई
साहारा दिई बचाउन खोज्छ

कमी छैन यहाँ
ती छेपारोहरूको
कमी छैन यहाँ
त्यस्ता दुध भात
सबैतिर ठिक्क हुनेहरूको ।

 

जयगाउँ, डुवर्स