मर्नेको पीडा भन्दा बाँच्नेको पीडा
कति धेरै कठोर हुँदोरहेछ
न गनेर सकिन्छ
न भनेर सकिँदो रहेछ
न लेखेर सकिन्छ
न त कथा वाचन गरेर सकिँदो रहेछ
अविरल नदी बगेजस्तो
कहिल्यै अन्त्य नहुने
मानिसको पीडा कस्तो कस्तो हुँदो रहेछ

प्रत्येक चरण चरणमा टुप्लुक्क देखा पर्दो रहेछ
न लुकाएर लुकाउन सकिँदो रहेछ
न कतै भगाउन सकिँदो रहेछ
नचाहँदै नचाहँदा पनि
बेला बेलामा टुप्लुक्क देखा परिदिन्छ
कसैलाई सोधनी गर्दैन
अनायास आइदिन्छ
यो मानिसको पीडा

खेतका कान्ला कान्लामा
बारीका पाटा पाटामा
रुख बोटका फेद फेदमा
सधैँ हिँडिरहने गोरेटो बाटोमा
गल्छी गल्छीमा
बल्छी हान्न कति सिपालु रहेछ
त्यो बुद्धि भएको मान्छे
अनि सपाट घर घडेरीमा
जता ततै मानिसका पीडा
छताछुल्ल पोखिएका देखिन्छन्
यद्यपि त्यो मानिसले
पीडालाई कम गरिदिने
अलिकति वैद्यको धुलो औषधि पनि दिँदैन
एक पटक पनि सोधनी गर्दैन
के भो तिमीलाई भनेर
धिक्कार छ त्यो मानिसलाई
जसले अरुको पीडालाई
कहिल्यै बुझेन
बरु थप्दै थप्दै गइरहेछ
अविरल गतिमा
ऊ त्यसैमा रमाउँछ
त्यसैमा खुसी छ
धन्न रहेछ त्यो मान्छे

पीडा नभएको कुनै ठाउँ छैन
जताततै पीडैपीडा थोपरी दिएको छ
के गर्न सक्छ र पीडितले ?
विचरा पीडा बोकी हिँडेको
त्यो असहाय पीडितले ।