कुन पर्खालले
घोषित गरिदियो
हामीलाई —
दुई भिन्दाभिन्दै
भूगोलको मानिस ?

अब एउटै रहेन
हामीले बोली हिँड्ने भाषा
सम्भव भएन
आँखाको इसारामा
हामीले गर्ने गरेको मौन संवाद
सम्भव भएन
पत्राचार, भेटघाट वा
कुनै विद्युतीय वार्तालाप

यसरी छुट्यिौँ हामी
कि अब त अवैध भयो
एकअर्कालाई
सम्झनुसमेत

बर्लिनको पर्खालभन्दा पनि निकै
भयानक र दर्दनाक हुँदोरहेछ —
मनको पर्खाल ।