कति लालायित छ
जोसँग गल्छ जोसँग मिसिन्छ
कसैलाई छाड्दैन
पग्लनु धर्म सम्झन्छ
सम्झौतामा बाँच्न चाहन्छ
अस्तित्व सापट लिएर
आवरणमा मोह, माया, लालच नदेखाई
त्यागी तपसीको ढोङ रचिरहन्छ
अनुहारले के जानिनु कस्तो हो
मृदुभाषी भै स्वार्थ लुट्छ
विश्वासमा लम्पसार बनाउँछ
परखमा निर्मोही नस्लको देखिन्न
पाखण्डी वंशजस्तो पनि होइन
अँध्यारोमा रङ्ग फेर्छ कति कति
सधैँ ताजाताजा रङ्गमा देखिन्छ
अर्कैको छायाँमा बाँचेकोले होला
मायावी भूतप्रेत जस्तो आभाष हुन्छ
जसलाई पनि लपेट्न सिपालु
हुँदाहुँदा अहिले
अनुहारै विवर्ण धब्बा देखिन्छ
ढोङी सेवकझैँ ढोल बजाएर हिँड्छ
आजन्म कुर्सीबाज जस्तै
तिगडम लगाइरहन्छ
मानौं कुर्सीमै जन्मेको हो ।

 

महालक्ष्मी-१, ललितपुर