
हो, म त्यही देशको नागरिक हुँ जहाँ
परिवर्तनको नाममा राष्ट्रघातीको
संज्ञा दिँदै पटक पटक पृथ्वीनारायण
मोतीराम, भानुभक्तहरूको शालिक ढालिन्छ
बहादुर शाह, भीमसेन थापाजस्ता सपुतलाई कालकोठरीमा हालिन्छ
साहित्य सृजनामार्फत परिवर्तनको
विगुल फुक्ने लक्ष्मीप्रसादहरूलाई
पागल घोषित गरी राँची पुऱ्याइन्छ
फत्तेमान , लाल ब.खाती , झलकमान
जस्ता मुर्धन्य स्रष्टालाई
भोकभोकै मर्न बाध्य पारिन्छ
जहाँ सयौं योगमायाहरूलाई
समाधि लिन बाध्य गराइन्छ
हो म त्यही देशको नागरिक हुँ जहाँ
दुई बोरा चामलमा धर्म
अनि दुई केजी मासु र एक बोतल
रक्सीमा आफ्नो अमूल्य मत बिक्री हुन्छ
जहाँ क्रान्तिको नाममा सत्तारोहणका
लागि पटक पटक निरीह, निमुखा
जनताहरुलाई बलि चढाइन्छ
जहाँ व्यवस्था फेरिरहन्छ तर
अवस्था सधैँ उस्तै रहिरहन्छ
हो म त्यही देशको नागरिक हुँ जहाँ
लासको बाकस ल्याउन पनि
कर्मचारीलाई घुस खुवाउनुपर्छ
मुर्दा लासले पनि सरकालाई कर तिर्नुपर्छ
जहाँ धक फुलाएर एक मुठी श्वास
फेर्न पनि विदेशी प्रभुसँग अनुमति लिनुपर्छ
जहाँ फोहोरलाई ढल छैन
पिउनलाई जल छैन
किसानलाई मल छैन तर
कृषि क्रान्ति, आत्मनिर्भरता र
स्वावलम्बन कृषकको नारा घन्काउँदै
पाँच तारे होटलमा रक्सीका बोतल
ठोकाइन्छ अनि विषादीयुक्त तरकारी
सिमापारिबाट भित्र्याउँदै स्वदेशी कृषकलाई
आफ्नो श्रम खेत बारीमै कुह्याउन या
सडकमा घोप्ट्याउन बाध्य पारिन्छ
हो म त्यही देशको नागरिक हुँ जहाँ
आफ्नो भाषा, धर्म, संस्कृति, सभ्यता र
परम्परालाई अँगाल्दा पुरातनवादी असभ्य
ढोंगी, पाखण्डीको उपमा दिइन्छ
अनि विदेशीको भाषा, धर्म, संस्कृतिको
नक्कल गर्दा सुशिक्षित , सुसभ्य अनि
आधुनिकताको श्रीपेच पहराइन्छ
हो म त्यही देशको नागरिक हुँ जहाँ
बच्चा जन्मदै ऋणको भारी बोकेर जन्मन्छ
जहाँ नागरिकले एउटा ऋण
तिर्न फेरि अर्को ऋण लिनुपर्छ
जहाँ लघुवित्त र गरिबी निवारण संस्थाको नाममा
फेरि तिनै गरिबको रगत र पसिना चुसेर तिनैलाई
घरवारविहीन बनाई जिउँदै जल्न बाध्य पारिन्छ
हो म त्यही देशको नागरिक हुँ जहाँ
अपराधी , दलाली, बलात्कारी, भ्रष्टचारीलाई
फूलमाला, अबीरजात्रा, मेडल, ताम्रपत्र अनि
एक्काइस तोपको सलामीले पुरस्कृति गरिन्छ
तर गरिब, निमुखा, शोषित पीडितहरूका
हक अधिकार, न्याय तथा आवाजहरू
कुण्ठित गरी दबाइन्छ
हो म त्यही देशको नागरिक हुँ जहाँ
कुबेरको भण्डारमा सुतेर धनको
लालचमा स्वयं देउतालाई नै बेचिन्छ
हो त्यही बुद्धको दिव्य ज्योति चिन्न नसकेर
शान्तिको खोजीमा हरिणझैँ भौतारिइन्छ
हो म त्यही देशको नागरिक हुँ जहाँ
साधुलाई सुलीमा चढाइन्छ अनि
देशद्रोहीको पद र कद बढाइन्छ
हो,जहाँ मानवताको अस्तित्व शून्यतामै बिलाउँछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

