सोच्छु
खानु नहुँदो हो भने
कति आनन्द !

दिनदिनैको क्लेश
बन्द भएको बोलचाल
अनि चुक्ली चाप्लुसी केही हुने थिएन होला
हुने थिएन ईर्ष्या
हुने थिएन घमण्ड
र त्यो मनको कालो दाग र धब्बा

तर म भ्रममा रहेछु

खानु नहुँदो हो भने त
त्यो मिजास नहुँदो रहेछ
त्यो माया नहुँदो रहेछ
र हुँदो रहेनछ त्यो शोभा

अनुपम सौन्दर्यले श्रृङ्गारिएकी सुसज्जित प्रकृति
समेत फिक्का लाग्ने रहेछिन्
सरितहरूको त्यो कलकल आवाज पनि
उराठलाग्दो रहेछ
दन्त पङ्क्तिझैँ सजिएका हिमालहरू
निस्सासिएर मर्न लागेका माछाहरूझैँ लाग्दा रहेछन्

 

तर यी त सबै भन्ने कुरा न हुन्
खानु नहुँदो हो भने
सभ्यताको विकास हुने थिएन
बौद्धिकताको प्रयोग हुने थिएन
र हुने थिएन खोज र आविष्कार
बाँचिरहेका हुने थियौँ हामी
त्यै ढुङ्गे युगमा, कुम्भकर्ण जसरी
पुष्पक विमानको चर्चा त परे जाओस्
आफ्नै शरीरको बचाउ हुने थिएन

हुने थियो त केवल अस्तित्व बिनाको मानव
खानु नहुँदो हो त सृष्टि समेत चल्ने थिएन
चल्ने थिएनन् नक्षत्र र ब्रह्माण्डहरू
हामीले खानु र मर्नुमा समेत
लुकेको छ कसैको स्वार्थ
अब सोच्नुपर्ने त छ कि
स्वार्थ बिना कसको के नै चलेको छ र ?
खानु नहुँदो हो त स्वार्थ समेत हुँदो रहेनछ

साँच्चै भन्नुपर्दा
खानु नहुँदो हो त आज
यो कलम यसरी चल्ने थिएन
नहुँदो यो आज यो कागज
र नहुँदो हो
कलम र कागजबीच यो घनिष्टता
खैर
खानु भएर नै त चलिरहेछ
यो संसार, ब्रह्माण्ड र यो सृष्टि।

 

शुक्लाफाँटा न. पा. ५, कन्चनपुर, सुदुरपश्चिम प्रदेश