हजुर
म प्रवासमा आदिवासी होइन
आधीबासी हुँ
मैले त्यहाँ पाएको कागजी परिचयपत्र
घाँटीमै झुन्ड्याएर हिँडे पनि
सबैले सोध्छन्
तपाईँ नेपाली हो है ?
म नेपालमै पनि कहाँ आदिवासी थिएँ र ?
आधीबासी नै थिएँ
नेपालमा आदिवासी हुन
नाक र आँखाको आकार विशेष हुनुपर्छ
खोई कहिले हो, कहाँबाट मेरा पुर्खा आएर
पहाडमा ढुङ्गो फुटाउँदै
वा तराईको जङ्गल बिराउँदै
बस्न मिल्ने ठाउँ बनाएछन्
तर मेरो नाक र आँखा मिलाउन बिर्सेछन्
र फिरङ्गीले बनाइदिएको
शब्दकोश हेरेर मलाई आधीबासी नै भनिन्छ
जे होस्
नेपालमा हुन् वा प्रवासमा हुन्
मेरा सन्तान दरसन्तानहरूले
पुर्खाले मानेको देवता भनेर
देउरालीको ढुङ्गालाई पुजे
वा
नेपालको माटोलाई
पुस्ताको पसिनाको सुगन्ध आउँछ भनेर चुमे भने
आधीबासी भएकोमा नै गौरव छ ।

 

कोरिया