ऊ भन्दै थिई
कोही उनको आखाँको बयान गर्थ्यो रे
भन्दथ्यो रे चिलका जस्ता साना, बाटुला
नजर नै गढ्ने
तिर झै छेड्ने
गाजलले सजाउँदा उसको मन नै कोप्ने
सुन्दर उनको आँखा देखेर
मायाको टुसा पलायो रे !

ऊ भन्दै गई
अर्को नजिकै आएर
उनको ओठको व्याख्यान गर्न थाल्थ्यो रे
रगत नै चुहिने देखिन्छ रे उनका ओठ
गुलाबी ती ओठले मिठास झार्छ रे
मह र दुधजस्तै मिठास दिन्छ रे
उसलाई ती चिल्ला ओठ
खेलाउन मन लाग्यो रे
उनको ओठलाई चुम्न
माया पलायो रे !

फेरि सँगै बसिरहेको अर्को व्यक्ति
उनको नजिकै आउँदै बक्यो रे
उसलाई उनको कम्मर
समाऊ समाऊ लाग्यो रे !
छिन्नै लागेको छ रे उनको कम्मर
ऊ भन्दै गयो रे
उनको बारुले
सारीले आधा लुकाएको कम्मर
सुम्सुमाएर नाच्न मनलाग्यो रे
कम्मर हेर्दा हेर्दै
मायाको बिऊ रोप्यो रे !

अर्को पनि तछाँडमछाँड गर्दै
उनको कपाल सुम्सुम्याउन खोज्दै थियो रे
चर्चा शुरु गर्यो रे कपालको
कालो लामो लहराउँदो
हावाको चालले लहरिँदा
धानको बाला झुलेझैँ झुलिरहेको
अद्भुत सुन्दर रे
त्यही कपालको केस्राकेस्रा केलाएर
बस्न मन लाग्यो रे
उनको धानबालीमा
मायाको आवाज सुसेल्न मन लाग्यो रे !

धेरै आए, धेरै गए, धेरै छन् रे
उनको अङ्ग-अङ्गलाई माया गर्ने
तारिफ गर्ने
शिरदेखि पैतालासम्म
कोहीलाई कुन त कोहीलाई कुन
चुम्न, खान, चलाउन, समाउन
मन लाग्ने

लामो सास फेर्दै ऊ बहकिँदै थिई
उनको मनको झन्कार बुझ्ने
उनको अन्तरमनको सुस्केरा सुन्ने
उनको मनको कसी जाँच्ने
उनलाई जीवन दृष्टि दिने
कोही आएनन् रे
कोही पाइन् रे
आजसम्म कोही पाइन रे !

अन्तमा ऊ एक अनुत्तरित प्रश्न छोड्दै गई
किन मानिसहरू
नासिने, परिवर्तित, अस्थायी कुरा
मन पराउँछन् ?