एउटा चिसो रातमा
जब म हराउन पुगें
त्यो सुनसान राजमार्ग
एउटा समुद्रको गहिराई जत्तिकै अग्लो थियो
र कामुक झरीको रात थियो
आफ्नै कथाले भरिएको एउटा स्मरणमा
डुबेकै बेला
अनायसै चट्याङकै वेगमा
एउटा एक्लोपनको आभास बोकेको
म बबुरो झस्याङ्ग भएछु
जहाँ एक युवती
एक निर्झर चेली भनौं
आफ्नै विवश घडीमा थिई
मैले देखें र एउटा वेगको अभावमा दौडें
जीवनको भोगाइले प्रतिप्रश्न गरे
तिम्रा सुन्दर वयहरूमा
आज तिम्रो अभाव दौडिएको छ र
तिम्रो पिठ्युँको पछाडि एउटा सानो बबुरो निदाएको छ
एउटा निष्पट रातमा
जहाँ तिम्रो अभावले
तिम्रो सुन्दरताको भावनालाई चिहान बनाएको छ
चेलीको यो अभाव र एक्लो रातमा तिमी
रुझेको झरीले मेरो वेदना चुँडिएको छ
आज आकाश धुमिल र चिसो झरी भएको बेला
म तिम्रो पीडाको मनमा बास दिन असमर्थ जस्तै छु
तर लाग्छ तिम्रो यही घडीले
तिम्रो इतिहासका कथालाई फेरि लाखौं चडकन हानेको छ
तिम्रो सुन्दर नयनबाट आँसु बगेको बेला
तिम्रो शरीर चिसो सिरेटोमा चकमन्न भिजेको बेला
मैले तिमीलाई न्यानो मातृत्व दिन नै बेश
लाग्छ कुनै पलमा मौसम पनि रक्सीको मधुप्याला बनेर बलात्कार बनेर आउन सक्छ
हो तर म बन्न दिन्न तिमीलाई शराबीहरूको मधुप्याला
एउटा माइतीको सानो झ्याल दिएर
लाग्छ तिमी ब्युँझिदा एउटा सानो झ्यालको कुनाबाट लाखौँ सम्भावनाहरूको खोजी गर्न सिक
एक्लो चिसो रातमा पनि शराबी र
यौनका मधुप्यालासँग जोगिन सक ।

रुकुम पश्चिम
चौरजहरी नपा