चर्चित चारुहरू

 

के इज्जत छ तिम्रो शहरमा
बुझेपछि खबर गर्नु घरमा ।

जहर कति प्रभावी छ बुझ्न
लगाएर हेरौं अधरमा ।

नियमभित्र पर्दैन जे जे
परेछ्न् गजल पनि बदरमा ।

जहाँ हुन्छ साहित्य अग्लो
देखिनँ तर नेपाली खबरमा ।

कुनै मान्छे सज्जन भएमा
शिला खोज्नु किन त्यो बगरमा।

◾️देवी पन्थी

<>•<>•<>◾️<>•<>•<>

धरा बाढी चलेजस्तो नचलूँ म कतैतिर
वन आगो बलेजस्तै नबलूँ म कतैतिर!

सिँह गर्जनको जस्तो डरलाग्दो विना हिडौँ
डाहले छट्पटी नाङ्गा नजलूँ म कतैतिर!

घोप्टे कप्टी महा दुष्ट काला काल करालझैँ
भित्रभित्रै छुरा घोप्ने नगलूँ म कतैतिर!

सौन्दर्यशीलको अग्लो सृष्टि शिखरझैँ उठौँ
आक्रोशको बनी खण्ड नढलूँ म कतैतिर!

अरे,अप्राप्य पाएको यौटा जीवनको गति
अहङ्कार भरी ढिकी नखलूँ म कतैतिर!

▪️कलानिधि दाहाल

 

<>•<>•<>◾️<>•<>•<>

महालक्ष्मीको पूजा आराधनाले ऐश्वर्य प्राप्ति गरिन्छ
सम्पलक्ष्मीको कृपाले दु:खबाट सम्पन्नतिर सरिन्छ

सम्पन्न भएर मात्र हुँदैन आध्यात्मिक या सांसारिक
यावत् भोगमा भोगलक्ष्मीको अर्चना गरे मस्ती भरिन्छ

भोगमा लिप्त भएर हुँदैन चाहिन्छ सन्मार्गको ज्ञान
ज्ञानलक्ष्मीको भक्तिभावले दृष्टिमा सम्यक् ज्ञान छरिन्छ

ज्ञानले मोक्षको मार्ग डोर्याई सार्थक बन्दछ जीवन
मोक्षलक्ष्मी पवित्र उपासनाले भवसागर तरिन्छ

पञ्चमहालक्ष्मीको अनुष्ठानले दिव्य बन्दछ जिन्दगी
मर्ने बेला पनि सन्तोष आनन्द शान्ति भावले मरिन्छ !

▪️रामचन्द्र ढकाल “आर .सी .अज्ञात “

 

<>•<>•<>◾️<>•<>•<>

 

छोडेर गयौ धन सम्झेर
के हुन्छ अब मन सम्झेर ।

जीवन बाटो भुलेर गयौ
बाहिर सौम्य तन सम्झेर ।

कला र धर्म मुटुमा राखौँ
सुन्दर आफ्नै पन सम्झेर ।

युद्धको घाउ बल्झियो फेरि
आमा बसेकी जन सम्झेर ।

रुँदैछ आर्त सडक छेउ
भीर र पाखा वन सम्झेर ।

▪️आर्त अकुलीन
कैलाली

<>•<>•<>◾️<>•<>•<>

 

भ्रम बढ्यो धन कमाएपछि
नम्र गड्यो चुक समाएपछि।

रमाउने रहर सकिने छ
क्रोध नै बेसरी जमाएपछि।

भित्र यो मन रोइरहने छ
बाहिर बाहिरै रमाएपछि।

नजरको दोषी भैरहने छ
भुलचुक सबै ठमाएपछि।

आफ्नो औकात आफैँ कहने छ
तत्त्वज्ञानलाई झमाएपछि।

▪️अच्युत घिमिरे
भुटान

<>•<>•<>◾️<>•<>•<>

 

कति गर्नु स्याहार पनि सकेजति गरेको छु
आफ्नो मन रित्याएर अरुको मन भरेको छु ।

हुन्न भन्ने ठाउँ नराखेरै माग्छन् भागेर हुन्न
नचाहेरै दुर्घटनामा मर्न अघि सरेको छु ।

लत्याएर हिँडे बाबै गरिब देखेर आफ्नाले
जीवन धान्न तोरीका गेडा माटोमा छरेको छु ।

होच्याउँछन् बोल्न जान्नेहरू शब्द र वचनले
झरना जस्तै गरी पटकपटक झरेको छु ।

खहरे र दोभानमा पानी बलियो हुन्छ भन्थे
त्यही खोला र दोभान पनि एक्लैले तरेको छु ।

▪️सविता के.सी.
काठमाडौँ

<>•<>•<>◾️<>•<>•<>

 

पहिलो भेटमा आँखा जुध्न अन्जान काफी हुन्छ
दोस्रो भेटमा बोल्ने मेलो चिनजान काफी हुन्छ।

परैबाट देखे पनि दुई चारपल्ट मस्किनलाई
लाली ओठमा हल्का हल्का मुस्कान काफी हुन्छ।

सिसीभित्र अमृत छ कि जहर भनी अन्दाज गर्न
पछ्यौरीलाई तान्दा अनुसन्धान काफी हुन्छ।

अप्सरा हुन् या परी हुन् या देवी हुन् या सुन्दरी
दिलमा फूल फुलाउनलाई इन्सान काफी हुन्छ।

यौवनाको पहिचान गर्न गारो मान्नु पर्दैन रे
लज्जा, सम्मान बुझ्न सके खानदान काफी हुन्छ।

शील, गुण, ज्ञान भए सितारा पो के चाहियो र !
श्रृङ्गार नहोस् सादा सरल परिधान काफी हुन्छ।

▪️ताराबहादुर बुढाथोकी
खाँदबारी

 

<>•<>•<>◾️<>•<>•<>

 

यसै सधैँभरि पीरै पीरले, जीवन चल्ने भो
सुखको बाटो हेर्दाहेर्दै नियतिले छल्ने भो ।

समस्याका खातहरूले, मनमुटु काँप्छ बरै
यिनै हुटहुटीले, पसिनाकै आगो बल्ने भो ।

जीउ पूरै शिथिल हुन्छ, कोसँग गुहार माग्नु
सधैभरि जिन्दगीले चिप्लाएर तेलै दल्ने भो ।

तातो मान्छेको चिसो याममा प्रतिक्रिया हुने
त्यही सहन गर्न गार्‍हो भएर जीउ गल्ने भो ।

छिनछिन् कोल्टे फेर्छु; सोचाई आउँछ के के ?
बेकारको बहकाईले अनिद्रामै रातै ढल्ने भो ।

सन्तान, समाज, भविष्य यस्तै यस्तै घुम्छन्
मनभरि खेलेका तिनै कुराले मुटु जल्ने भो !

▪️प्रेम थापा “मन”
बागलुङ

<>•<>•<>◾️<>•<>•<>

 

रिस, राग, द्वेष फाली काम गर्न थाल अब
अन्धकार हटाउन आफैँ दियो बाल अब

बन्न रोक लहडका सानासाना घरहरू
स्वार्थ जडित खम्बाहरू अघि सरी ढाल अब

चट्टानको पहाडझैँ रुप लियो बेथितिले
चेतनाको आगो बाली ढुङ्गालाई गाल अब

बिगार्दैछ अन्नलाई कुअन्न र पोगटाले
बुद्धि विवेक लगाएर राम्रोसँग चाल अब

आउँदैन कोही यहाँ कलियुगे राम बनी
छानीछानी दुष्टलाई आँट गरी फाल अब ।

▪️जानुका गुरागाईं
झापा

<>•<>•<>◾️<>•<>•<>

 

पानी भर्ने निहुँ गरी आउनु पँधेरीमा
सोरठी र ठाडो भाका गाउनु पँधेरीमा

विरह र प्रीति दुवै साट्ने भए सँगै
लुकिछिपी चोखो माया लाउनु पँधेरीमा

समाजको बन्धन तोडी एक्लै बस्ने भए
खरको छानो चट्ट पारी धाउनु पँधेरीमा

वंशलता पूर्वजको धान्ने भए सानी
सप्रिएको घोर्ले छोरो पाउनु पँधेरीमा।

▪️अन्जना न्यौपाने