म त हावाको मान्छे
बतासका फूल चुँडेर
पिरतीको माला गाँसिदिन्छु
बादलको लाली पोतेर
चन्द्रमाको उज्यालो चोरेर
तिम्रो मुहारमा छरिदिन्छु
फूलको सुवास सँगालेर
अनेकौं रङ खोसेर
तिमीमा भरिदिन्छु
सिरेटो बनेर तिमीलाई चुमिदिन्छु
हावा भएर तिम्रा ढुकढुकीहरूमा धड्किदिन्छु
हावाझैँ बत्तिएर
तिम्रो प्रेमी बन्न आत्तिएर
तिम्रा यादहरूमा मात्तिएर
कल्पनाको संसारमा हराएछु
जीवनको कस्तुरी भुलेर
लुखुर–लुखुर गल्ली डुलेर
हावा हुँ भन्ने नै भुलेर
म त हावामै हराएछु
आफूलाई बिर्सिएर
तिमीलाई सम्झिएर
मेरो दिलमा मायाको मन्दिर बनाएर
तिम्रो निर्दोष अनुहारको मूर्ति सजाएर
प्रेमका फूलहरू बटुलेर
पूजा गर्न थालेछु
जीवको श्वास भन्नुनै हावा हो
मायाको आकार पनि हावा नै हो
बेलुनमा हावा भरिदियो भने बेलुन हावामै हराउँछ
प्रेमिल जोडी एकअर्कालाई सम्झिएर हावाकै संसारमा
हराउँछन्
म पनि त
तिमीलाई सम्झिएर
हावामै हराएँ
पहिलो भेटैमै मन पराएँ
अलि–अलि लजाएँ
माया गर्छु भन्न डराएँ
मन मुटुमा सजाएँ
नीलो आकाशमा बादलको डोली बनाएर
लालीगुराँसझैँ तिमीलाई सजाउने छु
ब्रह्माण्डको सयल गराउने छु
हावाजस्तै प्रेम
अमूर्त छ
अभौतिक छ
तैपनि हर क्षण ढुकढुकी भएर धड्किदिन्छ
तिमी हावासँगै मिसिएर
सुस्तरी–सुस्तरी आउनु
मिठो पिरतीमा हराउनु
फूलजस्तै ढकमक्क फूलेर
हावालाई भुलेर
पिरतीको माला उनेर
हृदयभित्र सजाएर
मैलेझैँ माया गर्नु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।