मलाई याद छ
तिमी सानो हुँदा
पढ्न जान्दिन भन्थ्यौ, लेख्न जान्दिन भन्थ्यौ
म भन्थेँ, तिमी जान्दछौ
र बारम्बार पढाउँथेँ अनि सिकाउँथेँ
तिमीले जानेपछि मुसुक्क हाँस्थ्यौ
र भन्थ्यौ मैले जानेँ‑
फरक यत्ति छ
तिमी बाहिरी हाँस्थ्यौ, म भित्री हाँस्थेँ
बत्तीको उज्यालोझैँ मन खुसी हुन्थ्यो
किनकि तिमीले लेख्न र पढ्न जानेका थियौ
मलाई याद छ
तिमी अलि ठूलो कक्षामा पुगेपछि
हात दुख्यो, लेख्न सक्दिन भन्थ्यौ
म भन्थेँ, लेख्नुपर्छ, लेख्ने बानी गर्नुपर्छ
तिमी भन्थ्यौ, लेख्न गाह्रो हुन्छ
लेख्दालेख्दै रुन थाल्थ्यौ, आँसु बरर्र झार्थ्यौ
फरक यत्ति छ
तिमी बाहिरी रुन्थ्यौ, म भित्री रुन्थेँ
मेरो मन ढुङ्गाझैँ भारी हुन्थ्यौ
किनकि तिमी रोएको मन कसरी हेर्न सक्थेँ
मलाई याद छ
गृहकार्य दिँदा कहिलेकाहीँ
तिमी लेख्दैनथ्यौ, म गाली गर्थें
तिमी अँध्यारो मुख लगाउँथ्यौ
र दुःखी बन्थ्यौ
फरक यत्ति छ
तिमी रोएर बाहिरी देखाउँथ्यौ
मनमनै सोच्थेँ, साह्रै पो गाली गरे कि
किनकि तिमी रुँदा
पत्थरको मन त मेरो पनि थिएन नि !
मलाई याद छ
तिमीले राम्रो नतिजा ल्याउँदा
खुसी हुँदै तिमी भन्थ्यौ
मैले राम्रो गरेँ
तिम्रो मुहारमा स्पष्ट खुसी देख्थेँ
फरक यत्ति छ
तिमी खुसी आफन्तसँग साट्थ्यौ
म मनसँग साट्थेँ
किनकि पढाउने त म थिएँ नि !
मलाई याद छ
कहिलेकाहीँ बाटोमा हिँड्दै गर्दा
विद्यार्थीहरू भेटिन्छन् र भन्छन्
म डाक्टर भएँ, म इन्जिनियर भएँ
म अफिसर भएँ, म व्यापारी भएँ
म यु.एस.मा छु, म अष्ट्रेलिया छु
म क्याडनामा छु, म युरोपमा छु
यस्तै… यस्तै
फरक यत्ति छ
उनीहरू मैले दिएको ज्ञानले खुसी छन्
म उनीहरूलाई ज्ञान दिएकोमा खुसी छु
म सोच्छु, मैनबत्तीझैँ बलेँ
र पो अरूलाई उज्यालो दिएँ
सदा, सदा…सदा ।
सिन्धुली
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।