म आज आकाश रुवाउँछु भनेर
त्यस्तो केही लेख्न बसेको छु
बेला यस्तो छ कि
घाम झलमल्ल लाग्नु र
आकाश सफा उज्यालो खुल्नु
सँगै भएको छ
हामीले लामो समय खर्चेर हुर्काएको प्रेम
सुन्दर किशोरझैँ भएको के थियो
हेर्दाहेर्दै हामीले
यो विषाक्त सम्बन्धको पहाड चढ्यो
झकमक्कै फुलिरहेको
एउटा पैंयूको बोटमा
सरासर पस्यो, पासो लगायो र झुन्डियो
गर्यो आत्महत्या
मैले मेरो अहंकारले रोकिनँ
तिमीले तिम्रो मौनताले रोकिनौँ
र, यो जो मेरा हत्केलामा
पैंयूका केही ताजा फूलहरु छन्
हो, जब ऊ तुर्लुङ्ग झुन्डियो
उसको बोझले हल्लिएर खसेका
हलुङ्गा फूलहरू हुन् यी
अब यही फूलहरू मात्र हुन्
उसको सम्झना
हाम्रो प्रेमको सम्झना
प्रिय
जब यो सब भैसकेपछि पनि
हामी अझै यो सम्बन्धमा रहनु भनेको
हामी एकअर्काको लागि थिएनौँ रै छ भनेर
अरु प्रमाण पुर्याउँदै जानु मात्र हो ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला