४.
जबसम्म मानिसको शरीरमा पसिना
बग्न छोड्दैन
या त पसिनामा नूनको स्वाद

अमिलो गन्ध रहिरहनेछ
तबसम्म माटोले मानिसलाई प्रेम गरिरहनेछ

तबसम्म माटोले मानिसको भलो चिताउनेछ

किनभने पृथ्वीलाई पनि थाहा छ
जब पसिनाको भल माटोमा पर्छ अन्नबाली पाक्छ
सुनौलो हुन्छ पृथ्वी
त्यही पसिना जब हावामा बग्छ पृथ्वी आल्हादित बन्छ

माटोले नयाँ गीत गाउँछ

मानिसले माटोप्रति वास्ता राखेको होस् या नहोस् तर माटोले पसिनाको गन्ध सधैँ खोज्छ ।

५.
यो माटाको पुत्ला कहिले लोहामा परिवर्तित भएछ थाहै पाइएन

छातीबाट हृदय कहिले निकालिएछ
हाड़मासुका एकेक पुर्जा पाटहरूलाई खियाले बेस्सरी खाई तुरेछ
थाहै पाइएन
मानिसहरू भन्छन् दिमागले काम लिनुपर्छ
तर कसरी भनूँ कि, कहिले दिमाग
काँडाको फूलदान बनेछ, थाहै पाइएन

हिजोअस्तिको छालाको जस्तै लाग्ने मानिसहरू लोहामा के परिवर्तित भएथे
अहिले खिया लागेपछि तुरिन्दै तुरिन्दै गएको हेर त
यो आधुनिक मान्छे !

अब यो मान्छे कि त कबाड़खानाको ढेरमा फ्याल्नभर
मात्रलाई लायक रह्यो
कि त एक्काइसौँ शताब्दीको भव्य संग्रहालयको एक कुनाको स्टोर रूमभित्र थन्काउन
दुवै अवस्थामा यो लोहमानव बेकामको भयो

अर्थात् आधुनिक मान्छे !

६.
गुराँसलाई थाहा छैन उस्को नाम
पीपललाई थाहा छैन उस्को नाम
गोरुलाई थाहा छैन उस्को नाम
मानिसलाई थाहा छ

मानिसले सोचेको कुरा हो नामसित हुन्छ
जोडिएको मानिसको
आन-बान-शान भनेर !

त्यसबाहेक मानिसले जानेको नामको
उत्पति र नीति
इतिहास र न्याय
मिमांसा औ भौतिकी
शास्त्र-धर्मशास्त्रबारे

मानिसले नजानेको केही रहेन यो संसारमा

मानिसलाई यो थाहा छ
रामलाई नामले जान्नु
र चिन्नु
दुई फरक-फरक कुरा हुन

मानिसले यो पनि जानेको छ कि
कुनै पनि विषयमा अतिरिक्त जान्नु
एक प्रकारको अश्लीलता हो
अमर्यादित हो !

तथापि –

मानिसले रुखको नाम जानेको छ रुखलाई होइन

मानिसले जन्तुको नाम जानेको छ जन्तुलाई होइन

मानिसले नदीको नाम जानेको छ नदीलाई होइन !

त्यसो भए मानिसले एउटा नामभित्र जानेको कति रहेछ त कुराहरू ?

यति मात्र ?

मानिसले सधैँ अमानुस् बन्न मात्र जान्यो !

●●

सिलगडी, भारत