ऊ बिहानीसित शीत पिउँछ
दिउँसोसित गीत बुन्दै
उकाली ओरालीमा पसिना पिउँछ
थकाईसित खुशी पिउँछ
खुशीसित थकाई पिउँछ
जिन्दगीनीय यात्रामा
संगतसित विसंगत पिउँछ
औंला गन्दै आँखाअघि धोका पिउँछ
फाटेका तनहरू
सकेसम्म मनले सिउँछ
नसके फेरि उपाय सिउँछ
तिथिसँगै जमघट खोज्छ
पिउनको निम्ति पुन: एकान्त रोज्छ
तत्कालै गुम्सिएको पीडा घोच्छ
जिउनको लागि अलिकति पिउन खोज्छ
धमिलो, सङ्लो, अमिलो, गुलियो पानी पिउँछ
पानी पो त्यस्तै हो कि
तुरुन्तै हाते शक्ति पिउँछ
कहिले आस्तिक पिउँछ
कहिले नास्तिक पिउँछ
पर्वको नाउँमा
नशाको ताउमा
झुण्डझुण्डको ठाउँमा
गँजडीको संगतसँगै
बुङ्पत्तेल धुवाँको मुश्लो पिउँछ
सुन्दर वातावरण घटघटी पिउँछ
जीवन संगिनीको सिउँदोको सिन्दूर पिउँछ
सिङ्गो घरदेखि असंख्य साथ पिउँछ
पिउने सिलसिलामा
गोधूलिको सितनसित
तारा हेर्दै जून पिउँछ
धर्तीमा फेरि नब्युँझने गरी
सदाको लागि साह्रा रातहरू पिउँछ
ऊ घटघटी सिङ्गो जीवन पिउँछ ।
गजुरी, धादिङ
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।