म बाइस वर्षकी थिएँ
मेरो भाइ डक्टर बन्न विदेश उडेकै वर्ष
मेरा बाउले मलाई बेचेका थिए
एउटा डाक्टरलाई
उसले गॊजी भरी डिपोजिट नहाली
मेरो सिउँदो फोड्न मानेन
मैले सुनेकी थिएँ मलाई दाइजोमा बेच्न ठूलो दलाली चलेको थियो
बल्ल बल्ल दस लाख र एउटा बाइकमा ऊ मञ्जूर भएको थियो
हो, त्यही दिन मेरा आँसुको मुहान फुटेको थियो
म उसका लागि एउटा महँगो खेलौना थिएँ
ऊ मलाई जति बेला जसरी चाहन्थ्यो त्यसरी नै
चलाउन, खेलाउन अनि उपभोग गर्न चाहन्थ्यो
उसलाई लगानी उठाउनु थियो
मेरो मनको कुनै मूल्य थिएन
मैले जसरी पनि उसका अगाडि मुस्कुराउनु पर्थ्यो
ऊ मेरा लागि होइन, म उसका लागि हरदम तयार हुनुपर्थ्यो
मैले आँसु लुकाएर गाजलले छोप्नु पर्थ्यो
उसको दुर्गन्ध मर्ने गरी मेरो शरीरमा अत्तर घस्नु पर्थ्यो
मेरा चाहनाहरू खोलाका गीत थिए
म प्रत्येक रात लुटिन्थेँ
मैले कयौं ती कहालीलाग्दा रातहरूमा
मनको बाँधले आँसुहरू बाँधेर
आफैंभित्र अड्याउन खोजेँ
पीडा र यातना सहन त बानी परेकै थिएँ
तर जब मलाई थाहा भयो
ऊ मलाई केवल प्रयोग मात्र गरिरहेको छ
म कहिल्यै आमा बन्न पाउने छैन
मेरो एक मात्र आशाको घर भत्कियो
मेरो मनको बाँध टुट्यो
आँसुहरूको बाढी चल्यो
मेरा आँसुहरू जताततै पोखिए
घरमा, वनमा, सहरका गल्लीहरूमा
माइतीका आँगनमा
आमाका काखमा तर
छताछुल्ल बगेका ती आँसुहरू सम्हालिदिने कोही भएन
मैले सुनेको तिमी मान्छेका आँसु आफ्नो फाइदाको लागि प्रयोग गर्छौ रे !
आऊ मेरा आँसु दुई छाक खान र एक सरो कपडामा किन
अनि मेरो आँसुमा राजनीति गर
सय किलोको माला लगाऊ
मेरो दुर्दशाको कहानीलाई भाषण बनाऊ
भोट जीत, पद जीत अनि ठूलो नाम कमाऊ ।