डा. मनमूर्ति भुर्तेल

राष्ट्रवाद एक पुर्ख्यौली सम्पति,
हामीले पहाडमा बाजेको कछाडसँगै पाएको
आज जताततै गुञ्जिरहेछ राष्ट्रवाद
विभिन्न उद्देश्यका परिभाषामाः
व्यक्तिगत स्वार्थ- राष्ट्रवाद
पारिवारिक स्वार्थ- राष्ट्रवाद
पार्टीगत स्वार्थ- राष्ट्रवाद
गुटगत स्वार्थ- राष्ट्रवाद
साम्प्रदायिक स्वार्थ- राष्ट्रवाद
कहीँ धोती राष्ट्रवाद,
कहीँ फरिया राष्ट्रवाद,
त कहीँ टोपी राष्ट्रवाद
यी सब राष्ट्रवादहरुका बीच
पेलिएको छ सच्चा नेपाली राष्ट्रवाद
खोज्दै जाँदा पुरै नेपाली सिमाना
देखेँ दक्षिणी सिमानामा,
दशगजा नजिकै एक वृद्ध समूह
च्यात्तिएको गन्जी, भ्वाङ परेको धोती
र फाटेको चप्पलमा बाङ्गिएको लट्ठीले
विदेशी क्रूर बन्दुकसँग निडर भिडिरहेका !
यो सच्चा नेपाली राष्ट्रवादलाई सलाम छ ।
सक्छौ दिन तिनलाई एक सेतो गन्जी ?
सक्छौ दिन तिनलाई एक सफा धोती ?
सक्छौ दिन एक जोर टिकाउ चप्पल ?
शायदै सक्लाउ दिन बन्दुक त;
सक्छौ दिन तिनलाई एक एकताको लट्ठी ?
अनि भिड्दै गर्दा चाहिने एक काँध सहारा ?
सक्छौ भने तिम्रो यो आत्मिय र
सच्चा राष्ट्रवादलाई पनि सलाम छ ।

मास्को (रसिया)