हिमालयको शितल पवनसँगै
नदीहरूको कलकल संगीतमा
रम्ने मेरो देश हिजो आज
जिन्दावाद र मूर्दावादको नाराले
प्रदूषित भएको छ

हिजो देशको लागि मर्न तयार हुने
युवा र युवतीहरू खाडी र झाडीमा भेटिन्छन्
गाँस र कपासको निम्ति
तातो बालुवामा मकै भुटिएझैँ
रब नभएको अरबमा भुटिएका छन्

तिनैले पठाएको रेमिट्यान्सको पसिनामा
चिप्लेटी खेल्दैछन्
टाउका नभएका मूर्कुट्टाका एक हुल

उनीहरू विचार र वादहरूको सिमानामा डोजर चलाउँदै
सुरक्षित भविष्यको सपना बाँड्दै छन्
तर
खै म कसरी विश्वास गरूँ
यिनीहरूको
जो परिवार हाँक्न नसकेर
देश हाँक्ने प्रक्रियामा छन्

शान्ति त एकादेशको कुरा भो आज
फेरि आउन पनि सक्छ
तर
अशान्त मन लिएर म
शान्तिको खोजीमा हिँडेको म
दलहरूको दलदलबाट निस्केर
पलायन पथको दलदलमा फसेको छु
कहिल्यै ननिस्किने गरी
र हेरिरहेको छु
चन्द्रसूर्य फरफराउन सक्ने मेरो देश
आफैँ कृत्रिम श्वासप्रश्वास गरेको
रेमिट्यान्सको भेन्टिलेटरमा ।