के तिमी थाक्यौ
साँच्चिकै थाकेकै हो ?
हो म थाकें
म थाकें
साँच्चै थाकें
म विधाताको कर्म रेखासँग थाकें
अपार सामाजिक बन्धनबाट थाकें
पारिवारिक परम्परा अनि कथित पितृ सत्ताबाट सिर्जित
अशोभनीय, अमानवीय अनि अमर्यादित भाषा अनि व्यवहारसँग थाकें
म पितृसत्ताको यो कठोर अन्त्यहीन साङ्लोसँग थाकें
प्राकृतिक रुपमा प्राप्त अदम्य साहस मातृत्वसँग थाकें
कार्यान्यवयनविहीन शब्दभार मात्र बोकेका कानुनी शब्दबोझसँग थाकें
साँच्चै
म साँच्चै थाकें
एक नारी भएर बाँच्नु पर्दाको कठोर जञ्जीरहरुसँग म थाकें
यथार्थमा भन्नुपर्दा नारी भएर पनि एक पुरुषको पूर्ण साथ पाएका ती महिलाहरुसँग अझ बढी थाकें
जोसँग महिलारुपी रुप अनि भेषसँग नारी हृदय हृदयहीन भइसकेको छ

थाक्यौ
सायद तिमी थाक्यौ
असाध्यै थाक्यौ
तर
तर के तिम्रो थकान शरीर अनि थकित शरीरले निम्त्याएको
तिम्रो जीवनको अतृप्त हार नै समस्याको समाधान हो त
हैन
पक्कै हैन
त्यसैले
त्यसैले
उठ
अब उठ
पितृसत्ताले निम्त्याएका यी अनेक जञ्जालको सिक्री तोड्न उठ
अब दुुनियाँले खिस्याइरहेको मातृत्वमा हरियाली ल्याउन उठ
समाजका सभ्यताका नाममा जरो गाडेका असभ्य संरचनाको जरो उखेल्न उठ
नारी भएर पनि नारी मन नभएकाहरुलाई महिलाका पीडा बुुझाउन र हराएको मानवता ब्युँताउन उठ
उठ अनि आऊ अब
तिमी र म एक भई समाजका हर अस्वाभाविक बन्धन तोडौँ
तिम्रो र मेरो यो साथ अब एक असल समाज निर्माणको साधना बनोस्
अनि अमानवीय संस्कार र सभ्यता विरुद्धको एक कडी बनोस्
अब यस्तो संसार बनोस् जहाँ हर पुरुष अनि महिला जो दुुवै सँगसँगै हाँसून् खेलून्
आऊ अब हामी समाज निर्माणका लागि चीरकालसम्म हात समाऔं
हात समाऔं ।