‘भाइरल कविता’अन्तर्गत यसपटक कवि अभय श्रेष्ठको चर्चित कविता ‘सत्यलाई साक्षी’ प्रस्तुत गरेका छौँ । यो कविता सञ्चालमा देखिइरहन्छ । चर्चा-परिचर्चासँगै भाइरल बनिरहेको हुन्छ । हामी हरेक साता यस्ता कविताहरूकाे खोजी गरेर यहाँहरूसमक्ष प्रस्तुत गर्ने प्रयास गर्नेछाैँ ।

=== 

कविताः सत्यलाई साक्षी

अब सत्यलाई पनि
सत्य सावित हुन साक्षी चाहिन्छ
घामलाई घाम हुन
जूनलाई जून हुन
र, आकाशलाई आकाश हुन साक्षी चाहिन्छ ।

अभय श्रेष्ठ

दूर क्षितिजबाट ओर्लिएको घामको उज्यालोसँगै
जिन्दगीको हरियालीको खोजीमा
हिँडिरहे कति मानिसहरू
तर, मेट्दै गए तिनले आफ्नै पाइतालाको छाप ।

अब कविताले मात्र
कोही कवि हुँदैन
अब कविलाई कवि हुन
गायकलाई गायक हुन
र, मान्छेलाई मान्छे हुन पनि साक्षी नै चाहिन्छ ।

थाहा छ– साक्षीले धेरैपल्ट फेरिदिएको छ सत्यको परिभाषा
साक्षीले धेरैपल्ट फेरिदिएको छ सत्यको रङ
साक्षीकै कारण धेरैपल्ट बन्दी भएको छ सत्य
अब सत्य नै साक्षीको खल्तीको रुमाल भएको छ ।